विदेश जान लाग्ने श्रमिकले विमानस्थलमा हवाई टिकट र सेवा शुल्कको रसिद अनिवार्य देखाउनुपर्ने

वैदेशिक रोजगार विभागले २०८२ चैत २९ गतेदेखि वैदेशिक रोजगारीमा जाने श्रमिकले विमानस्थलमा थप कागजात अनिवार्य देखाउनुपर्ने व्यवस्था लागू गर्ने जनाएको छ। श्रमिकले गन्तव्य मुलुकको हवाई टिकट, टिकटको बिल/रसिद र म्यानपावर कम्पनीमार्फत जाने भए सेवा शुल्कको आधिकारिक रसिद अनिवार्य देखाउनुपर्ने विभागले बताएको छ।
विभागले इजाजतप्राप्त संस्थालाई सेवा शुल्क लिँदा भौचर/रसिद उपलब्ध गराउन निर्देशन दिएको र नियम पालना नगर्दा यात्रा प्रभावित हुन सक्ने चेतावनी दिएको छ। वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि विमानस्थल (अध्यागमन) जाँदा थप कागजात अनिवार्य गरिएको छ।
तोकेका कागजात नहुँदा विदेश जान समस्या हुन सक्ने भन्दै विभागले अनिवार्य रूपमा थप कागजात साथमा राख्न अनुरोध गरेको छ। श्रमिकले गन्तव्य मुलुकसम्मको हवाई टिकट र सो टिकटको बिल/रसिद (संस्थागत तथा व्यक्तिगत दुवै) देखाउनुपर्नेछ।
त्यस्तै, म्यानपावर कम्पनीमार्फत जाने भए सो संस्थालाई बुझाएको सेवा शुल्कको आधिकारिक रसिद समेत अनिवार्य गरिएको छ। विभागले श्रमिकलाई आवश्यक कागजात पूरा गरेर मात्रै विमानस्थल जान आग्रह गर्दै नियम पालना नगर्दा यात्रा प्रभावित हुन सक्ने चेतावनी दिएको छ।






