Skip to main content

पहिरोले बेनिघाट-आरुघाट-लार्के सडक अवरुद्ध

धार्चे गाउँपालिका–३ दोभान नजिकैको कालाभिरमा चट्टानसहितको पहिरो खसेपछि बेनिघाट-आरुघाट-लार्के सडक मंगलबार बिहानदेखि अवरुद्ध भएको छ। नेपाली सेनाले स्थलगत अध्ययनका लागि सडक निर्माण कार्यदलका प्राविधिकहरूलाई पठाएको छ र प्रतिवेदनपछि सडकको अवस्था निश्चित हुने बताइएको छ। सडक अवरुद्ध हुँदा सवारी आवागमन र सामान ढुवानीमा समस्या देखिएको छ भने पालिकाले पदमार्ग प्रयोग गर्न अनुरोध गरेको छ। २४ चैत, गोरखा।

चट्टानसहितको पहिरोले बेनिघाट-आरुघाट-लार्के सडकलाई अवरुद्ध बनाएको हो। धार्चे गाउँपालिका–३ दोभान नजिकैको कालाभिरमा माथिबाट ठूलो चट्टानसहित सुख्खा पहिरो खसेपछि मंगलबार बिहानदेखि सडक अवरुद्ध भएको हो। पालिका अध्यक्ष लक्ष्मण गुरुङले भने, ‘हिजो पनि माथिबाट ढुंगा खसेर केहीबेर सडक रोकिएको थियो, डोजर लगाएर हटायौं। तर आज बिहान सडक बेस नै जानेगरी माथिबाट ठूलो चट्टानसहितको पहिरो खसेछ।’

नेपाली सेनाले स्थलगत अध्ययनका लागि सडक निर्माण कार्यदलका प्राविधिकलाई पठाएको छ। रुद्रध्वज गणका गणपति विरोध रिजालले भने, ‘निर्माण कार्यदलका प्राविधिकहरू पठाएका छौं, उहाँहरू पुगेर प्रतिवेदन दिएपछि सडकको अवस्थाबारे निश्चित हुनेछ।’ सडक अवरुद्ध भएपछि सो क्षेत्रमा सवारी आवागमन पूर्ण रूपमा ठप्प छ। सामान ढुवानीमा पनि समस्या देखिएको स्थानीयहरूले बताएका छन्।

मनास्लु क्षेत्रतर्फ जाने पर्यटकहरूको चाप रहेको उक्त सडक निर्माणको काम विगत सात वर्षदेखि जारी छ। बेनिघाटदेखि चीनको सीमा लार्के भन्ज्याङसम्मको कुल १५४ किलोमिटरमध्ये ९७ किलोमिटर खण्डमा सडक ट्रयाक खुल्न पुगेको छ र सवारी चलेको छ। हावाडाँडादेखि चुमनुव्री गाउँपालिकाको पाङसिङसम्म पनि सवारी गुड्न थालेको छ।

सडक निर्माणको काम २०५२ सालमा सुरु भएको थियो र आर्थिक वर्ष २०६३-६४ मा बेनिघाट-आरुघाट-लार्के भञ्ज्याङ सडक नामाकरण गरी सडक विभागलाई निर्माण जिम्मेवारी दिइएको थियो। तर, हावाडाँडादेखि करिब १ किलोमिटर क्षेत्र कडा चट्टानयुक्त भिर भएकाले करिब पाँच वर्षसम्म ट्रयाक खोल्ने काम अगाडि बढ्न सकेको थिएन।