
२४ चैत, काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष र प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले दार्चुलामा झोलुङ्गे तुइन विस्थापनका लागि चन्दा संकलन गर्ने घोषणा गरेपछि धेरैले अन्तर्राष्ट्रिय सीमामा एकलौटी पुल बनाउन नहुने प्रतिक्रिया दिएका छन्। दार्चुलाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य गणेश ठगुन्नाले साम्पाङको पहललाई ‘स्टन्टबाजी र हावा कुरा’ भन्दै आलोचना गरेका छन्। नेपाल सरकारका पूर्वसचिव भीम उपाध्यायले अन्तर्राष्ट्रिय नदीमा पुल बनाउँदा कूटनीति, सीमा सुरक्षा र भूगोलजस्ता विषयमा ध्यान दिनुपर्ने उल्लेख गरेका छन्। उपाध्यायले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, “यस्ता सम्भव नहुने कामहरूमा पनि हावाको भरमा कुदेको र अरूहरू पनि भावुक भएर उनकै पछिपछि कुदिरहेको देखिरहेको छु।”
मंगलबार दार्चुला पुगेर साम्पाङले झोलुङ्गे पुलको शिलान्यास गरेका छन्। दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले भने, “माननीयज्यूले ब्यास गाउँपालिकाको वडा नम्बर २ स्थित दुम्लिङकाठामा पुलको शिलान्यास गर्नुभएको हो, जुन नेपाल–भारतको सीमा नदी होइन।” महाकाली नदीमा नभएर घट्टे खोलामा पुल बन्ने जानकारी ब्यास गाउँपालिकाका अध्यक्ष मंगलसिंह धामीले दिएका छन्। ब्यास गाउँपालिका-१ का वडाध्यक्ष अशोक ब्यासीले भने, “यहाँको वास्तविक भूगोल नजान्नेहरूले महाकालीमै पुल बन्ने जस्तो हल्ला गरेको कुरा गलत हो।”
दार्चुलाका सांसद ठगुन्नाले त्यहाँ झोलुङ्गे पुल आवश्यक रहेको तर साम्पाङले अनावश्यक प्रचारबाजी गरेको बताए। उनले भने, “उहाँले गर्नुभएको पहल सकारात्मक छ। देश–विदेशका नेपालीलाई महाकालीमै पुल हाल्छु, तुइन विस्थापित गर्छु भन्नु भनेको स्टन्टबाजी हो।” श्रम संस्कृति पार्टीका महासचिव आरेन राईले भने दार्चुलाका जनतालाई सहज हुने गरी स्वैच्छिक सहयोग आव्हान गरेर झोलुङ्गे पुल बनाउने योजना रहेको बताए। साम्पाङले पनि आफ्नो राजनीतिक स्वार्थ नराखेको बताएका छन्। उनले फेसबुकमा लेखेका छन्, “दार्चुलाको पुल बनाउँदा कुनै किसिमको राजनीतिक उद्देश्य राखेको छैन मैले।”
करिब १२० मिटर लामो पुल बनाउन करिब एक करोड रुपैयाँ लागत अनुमान गरिएको ब्यास गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत कृष्णानन्द बडुले जानकारी दिएका छन्। बडुका अनुसार साम्पाङले पुल निर्माणका लागि पालिकासँग अनुमति पनि लिइसकेका छन्।






