Skip to main content

मे २० देखि धेरै किन्डल मोडलहरूमा ‘किन्डल स्टोर’ बन्द हुने घोषणा

अमेजनले सन् २०१२ र अघि सार्वजनिक गरिएका पुराना किन्डल ई-रिडर्स र किन्डल फायर डिभाइसहरूमा मे २०, २०२६ देखि किन्डल स्टोरको पहुँच स्थायी रूपमा बन्द गर्ने निर्णय गरेको छ। यस निर्णय अनुसार, मे २० पछि ती उपकरणहरूबाट नयाँ किताब किन्न, सापटी लिन वा डाउनलोड गर्न सकिने छैन, तर पहिले डाउनलोड गरिएका किताबहरू पढ्न पाईनेछ। अमेजनका प्रवक्ता ज्याकी बुर्कका अनुसार, यदि ती डिभाइसहरूलाई ‘फ्याक्ट्री रिसेट’ गरियो वा ‘डिरिजिस्टर’ गरियो भने, तिनीहरूलाई पुन: दर्ता गर्न सकिने छैन।

यस निर्णयले सन् २००७ मा सार्वजनिक भएको पहिलो पुस्ताको किन्डलदेखि सन् २०१२ सम्मका ११ वटा विभिन्न मोडलहरूलाई प्रभावित गर्नेछ। प्रभावित हुने मुख्य मोडलहरूमा सन् २००७ को पहिलो जेनेरेसनको किन्डल, २००९ र २०१० का किन्डल डीएक्स, र २०१० को किन्डल किबोर्ड समावेश छन्। अमेजनले प्रभावित प्रयोगकर्ताहरूलाई इमेलमार्फत जानकारी पठाउन सुरु गरिसकेको छ।

पुराना डिभाइस छोडेर नयाँ किन्डल किन्न चाहने प्रयोगकर्ताहरूका लागि अमेजनले विशेष सहुलियतको व्यवस्था गरेको छ। प्रभावित प्रयोगकर्ताहरूले नयाँ किन्डल खरिद गर्दा २० प्रतिशत छुट र २० डलर बराबरको इबुक क्रेडिट प्राप्त गर्नेछन्। यो अफर जुन २०, २०२६ सम्मका लागि मान्य रहनेछ।