संविधान संशोधनको प्रस्तावमा एमालेकाे प्रतिक्रिया- अध्यक्ष हिरासतमा हुनुहुन्छ, एजेन्डा स्पष्ट भन्न सकिन्न

नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली प्रहरी हिरासतमा रहेका कारण संविधान संशोधनको एजेन्डामा छलफल हुन नसकेको जनाएको छ। सरकारले असिम शाहको नेतृत्वमा गठन गरेको समितिको बैठकमा एमालेका केन्द्रीय सदस्य डा. भिष्म अधिकारीले अध्यक्षको रिहाईपछि मात्रै एजेन्डा तयार पारिने बताएका छन्। अधिकारीले संविधान संशोधनको विषय खुला राखेर मात्र नहुने, सबै पक्षसँग सघन छलफल र सहमति आवश्यक रहेको तर्क गरे। २५ चैत, काठमाडौं।
नेकपा एमालेले आफ्ना पार्टी अध्यक्ष केपी शर्मा ओली प्रहरी हिरासतमा भएकाले संविधान संशोधनको एजेन्डा विषयमा छलफल हुन नसकेको बताएको छ। संविधान संशोधनका लागि बहस प्रस्ताव तयार गराउने उद्देश्यले सरकारले असिम शाहको नेतृत्वमा गठन गरेको समितिको बैठकमा एमालेका प्रतिनिधिले यसरी उत्तर दिएका छन्। ‘हाम्रो पार्टी अध्यक्षलाई प्रहरी हिरासतमा राखिएको छ। उहाँ हिरासतमा रहनु हुँदा संविधान संशोधनबारे छलफल भैरहेको छैन,’ केन्द्रीय सदस्य डा. भिष्म अधिकारीले बैठकमा भने, ‘उहाँ बाहिर आउनुभयो भने बैठक बसेर हामी एजेन्डा तयार पार्नेछौँ, अहिले केही भन्न सक्दिन।’
संविधान संशोधनको ठोस एजेन्डाबारे पार्टीले निर्णय गर्ने बताएका अधिकारीले संविधानको विरुद्धमा नरहेको स्पष्ट पारे। ‘संविधान संशोधनको विषय केवल खुला राखेर मात्र हुँदैन, सबै पक्षसँग छलफल गर्नुपर्छ र सहमति लिनुपर्छ,’ उनले भने। प्रदेश र स्थानीय सरकार, विशेषज्ञ र सरोकारवालासँग सघन छलफल गरेर मात्र संविधान संशोधन गरिनुपर्ने अधिकारीले जोड दिए।






