Skip to main content

विदेशी राजदूत र नियोग प्रमुखहरूलाई प्रधानमन्त्री बालेन शाहका १२ सन्देशहरू

प्रधानमन्त्री बालेन शाहले नेपालमा कार्यरत विदेशी राजदूत र कूटनीतिक नियोगका प्रमुखहरूलाई सरकारको प्राथमिकताबारे पहिलो पटक संयुक्त रूपमा विस्तृत जानकारी दिएका छन्। उनले नेपालको सन्तुलित र व्यावहारिक परराष्ट्र नीतिलाई पुनः दोहोर्‍याउँदै छिमेकी, मित्र राष्ट्र र विकास साझेदारहरूसँग सम्बन्ध प्रगाढ बनाउने प्रतिबद्धता व्यक्त गरे। १२ मुख्य सन्देशहरूमा मित्र राष्ट्रसँग सम्बन्ध सुदृढ पार्ने, नेपाली नागरिकको सुरक्षा प्राथमिकता सहित शान्तिलाई साझा प्राथमिकता राख्ने र राजनीतिक स्थायित्व कायम राख्ने विषय समावेश गरिएको छ।

२७ चैत, काठमाडौं। प्रधानमन्त्री बालेन शाहले नेपालको राजधानीमा कार्यरत विदेशी राजदूत र कूटनीतिक नियोगका प्रमुखहरूलाई सरकारको प्राथमिकताबारे जानकारी दिएका छन्। उनले सन्तुलित र व्यावहारिक कूटनीतिक नीति अवलम्बन गर्दै शान्तिलाई साझा प्राथमिकतामा राख्ने कुरालाई उल्लेख गर्दै १२ वटा महत्वपूर्ण सन्देशहरू स्पष्ट पारिएका छन्। प्रधानमन्त्री पदमा नियुक्ति भएपछि उनले नेपालमा रहेका विभिन्न मुलुकका राजदूत र कूटनीतिक नियोगका प्रमुखहरूलाई संयुक्त रूपमा ब्रिफिङ गरेका थिए।

सो बैठकमा भारत, पाकिस्तान, कोरिया गणराज्य, बेलायत, कतार, स्विट्जरल्यान्ड, फ्रान्स, इजरायल, जापान, बंगलादेश, जर्मनी, इजिप्ट, श्रीलंका, साउदी अरब, चीन, संयुक्त राज्य अमेरिका र संयुक्त राष्ट्र संघका राजदूत तथा नियोग प्रमुखहरूको उपस्थिति रहेको थियो। प्रधानमन्त्रीको सचिवालयका अनुसार, प्रधानमन्त्री शाहले नेपालको सन्तुलित र व्यावहारिक परराष्ट्र नीतिलाई पुनः दोहोर्‍याउँदै छिमेकी, मित्र राष्ट्र र विकास साझेदारहरूसँग विश्वास, पारस्परिक सम्मान र साझा समृद्धिमा आधारित सम्बन्धलाई अझ प्रगाढ बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।