Skip to main content

म्याग्दीमा बस र ट्रक ठोक्किँदा १५ जना भारतीय तीर्थयात्री घाइते

२५ चैत, म्याग्दी। म्याग्दीको बेनी नगरपालिका–९ जलेश्वरमा बुधबार साँझ बस र ट्रक ठोक्किएर दुर्घटना हुँदा १५ जना भारतीय तीर्थयात्री घाइते भएका छन्। मुस्ताङबाट पोखरा तर्फ जाँदै गरेको ग २ ख १४५७ नम्बरको बस र भैरहवाबाट दानाको रुप्सेतर्फ जाँदै गरेको ग प्र.०१००१ख ००१२ नम्बरको ट्रक ठोक्किँदा दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक सागर तिमिल्सिनाका अनुसार बस र ट्रकको अगाडिको भाग पूर्ण क्षतिको अवस्थामा रहेको छ।

बसमा यात्रारत २४ जनामध्ये चालक र सहचालकसहित नौ जना सुरक्षित छन्। घाइतेहरू मुस्ताङको मुक्तिनाथ तीर्थयात्रा पूरा गरी फर्कंदै गरेका भारतीय तीर्थयात्रीहरू हुन् भनी प्रहरी निरीक्षक तिमिल्सिनाले जानकारी दिएका छन्। भारतको उत्तरप्रदेशका ६२ वर्षीय दीपकराज मित्तल, ६३ वर्षीय शङ्कर लाल केशवानी, ४२ वर्षीया कृति शर्मा, ३८ वर्षीय गौरव सेनी, गुजरातका ७२ वर्षीय राज अडोलिया, २० वर्षीया सिम्रन साहाय, हरियानाका ६७ वर्षीय प्रेमा शर्मा, उत्तरप्रदेशका ५३ वर्षीय अल्का गुप्ता, जयपुर राजस्थानका ५८ वर्षीय अरविन्द भट्ट, दिल्लीका ६९ वर्षीय रामगोपाल शर्मा, ४८ वर्षीया बन्धना शर्मा, मध्यप्रदेशका ३७ वर्षीया ऋचा कौशिक र ३९ वर्षीय गौरव कौशिक, गुजरातका ४८ वर्षीय विनित गोयल र ४२ वर्षीय निरु चौधरी घाइते भएका छन् भन्ने प्रहरीको सूचनामा उल्लेख छ।

अस्पतालका अनुसार घाइतेहरूमध्ये अधिकांशको अनुहार, हात र खुट्टामा चोट लागेको छ। बस चालक कास्कीको माछापुच्छ्रे गाउँपालिका–४, लाहाचोक निवासी ३१ वर्षीय विकास जिसी घाइतेहरूको उपचारमा संलग्न छन् भने ट्रक चालक पर्वतको जलजला गाउँपालिका–७ धाइरिङ निवासी २८ वर्षीय नारायणप्रसाद शर्मा प्रहरीसँग सम्पर्कमा रहेको प्रहरीले जनाएको छ।