Skip to main content

नेसनल प्याब्सनको चिन्ता: दुई दिने सार्वजनिक बिदाले शैक्षिक क्यालेण्डरमा दीर्घकालीन असर पार्ने

नेसनल प्याब्सनले सरकारले लागू गरेको दुई दिने सार्वजनिक बिदाले विद्यालय तहको शैक्षिक क्यालेण्डरमा दीर्घकालीन असर पर्ने चेतावनी दिएको छ। सरकारले चैत २२ गते निर्णय गर्दै हप्तामा शनिबार र आइतबार सार्वजनिक बिदा दिने र शैक्षिक सत्र वैशाख १५ गतेदेखि सुरु गर्ने निर्णय गरेको हो।

नेसनल प्याब्सनका अध्यक्ष गीता राणा क्षेत्री र महासचिव प्रतापबहादुर थापाले आज जारी गरेको विज्ञप्तिमा भनेका छन्, “थप बिदाका कारण तोकिएको पाठ्यक्रम समयमा सम्पन्न गर्न चुनौती हुनेछ। नेपाल सरकार, मन्त्रिपरिषद्ले पेट्रोलियम पदार्थको खपत घटाउन र वैदेशिक मुद्रा सञ्चिति जोगाउन यस निर्णय गरेको हो।”

दैनिक ज्यालादारीमा आश्रित अभिभावकका लागि दुई दिने बिदा व्यवस्थापन गर्न कठिन हुने र यसले सामाजिक तथा आर्थिक प्रभाव पार्ने नेसनल प्याब्सनको दाबी छ। यी चुनौतीका बाबजुद, नेसनल प्याब्सनले नयाँ भर्ना वैशाख २ गतेदेखि र पठनपाठन सुरु गर्न अनुरोध गरेको छ। शिक्षा नियमावलीमा एक शैक्षिक सत्रमा कम्तीमा २२० दिन पठनपाठन कायम गर्नुपर्ने व्यवस्था रहेको छ।