Skip to main content

जेनजी शहीद परिवारका अतिरिक्त सदस्यलाई रोजगारी उपलब्ध गराउने निर्णय

नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिले जेनजी आन्दोलनका अतिरिक्त ८ शहीद परिवारका सदस्यलाई रोजगारी उपलब्ध गराउने निर्णय गरेको छ। ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले यस निर्णय गरेको हो। प्राधिकरणले यसअघि २७ शहीद परिवारका सदस्यलाई रोजगारी दिने प्रक्रिया अघि बढाइसकेको छ। २६ चैत, काठमाडौं।

जेनजी आन्दोलनका शहीद भएका परिवारका थप सदस्यलाई रोजगारी उपलब्ध गराउने निर्णय गरिएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठको अध्यक्षतामा बसेको नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो। गत भदौ २३ र २४ गते जेनजी आन्दोलन भएको थियो।

जेनजी आन्दोलनमा घाइतेहरुलाई राहत दिने सम्बन्धित कार्यविधि २०८२ को बुँदा नम्बर ११ र नेपाल राजपत्र (खण्ड ७५, अतिरिक्ताङ्क ३२, कार्तिक १७ गते, २०८२ साल) मा व्यवस्था अनुसार, छुटेका ८ जना शहीद परिवारका सदस्यलाई रोजगारी प्रदान गर्ने निर्णय गरिएको उर्जामन्त्रीको सचिवालयले जनाएको छ। प्राधिकरणले यसअघि नै २७ जना शहीद परिवारलाई रोजगारी दिने प्रक्रिया अघि बढाइसकेको छ।

थप ८ शहीद परिवारका सदस्यहरुमा रोजित श्रेष्ठ बनस्थली, अम्बिका विश्वकर्मा उदयपुर, सुमित्रा महत सिन्धुपाल्चोक, शीतल पौडेल, मौसम कुलुङ संखुवासभा, पार्वती अधिकारी सर्लाही, हेमन्ती विष्ट बझाङ र मञ्जु पौडेल लम्जुङका नाम रहेका छन्।