
भक्तपुरमा आजदेखि प्रसिद्ध बिस्का जात्रा शुरु हुँदैछ। यो जात्रा भक्तपुरको सांस्कृतिक तथा ऐतिहासिक महत्व बोकेको र लिच्छविकालदेखि सुरु भएको मानिन्छ। बिस्का जात्रा नौ दिन आठ रातसम्म चल्ने भएकाले सुरक्षा प्रबन्ध कडा गरिएको छ। २७ चैत, काठमाडौं। भक्तपुरमा नौ दिन आठ रातसम्म मनाइने प्रख्यात बिस्का जात्रा आजदेखि सुरु हुँदैछ। यो जात्रा नेपाली नयाँ वर्ष वैशाख १ गतेभन्दा चार दिन अघि भैरव र भद्रकालीको रथ तानेर सुरु भएर वैशाख ५ गते सम्पन्न हुन्छ। भक्तपुरको सांस्कृतिक र ऐतिहासिक दृष्टिले महत्वपूर्ण बिस्का जात्रा लिच्छविकालदेखि नै सञ्चालन हुँदै आएको मानिन्छ।
जात्रा तौमढी (पाँचतले मन्दिर अगाडि) बाट भैरव र भद्रकालीको रथ तानेर सुरु हुन्छ र नौ दिनसम्म विभिन्न जात्रा र कार्यक्रमहरू सञ्चालन हुने गर्दछन्। पहिलो दिन पाँचतल्ले मन्दिर प्रांगणबाट भैलखलाई क्वने र थनेका बासिन्दाले अगाडि पाँच र पछाडि चार वटा डोरी तानेर आफ्ना टोलतिर लैजान्छन्। जात्राको मुख्य आकर्षण यही भैलखः तानातान हो। जात्रामा भैलखः तान्ने रुट क्वने राज्यतर्फ तमारी, बुलुँचा, घट्खा, नासमना, मुलाखु, वंशगोपाल र तेखापुखुसम्म र थने राज्यतर्फ क्वाछें, साकोठा, सुकुलढोका, गोमारी, इनाचो, दत्तात्रयसम्म रहेको छ।
जात्राको दोस्रो दिनलाई शुन्य मानिन्छ। तेस्रो दिन गःहिटीमा भैरवनाथलाई राँगो बलि चढाई गुठी संस्थानद्वारा सरकारी पूजा गरिन्छ। बलीपूजाको मासु प्रसादको रूपमा लाकुलाछेबासीलाई बाँडिन्छ, जुन स्थानीय भाषामा ‘स्याःक्वःत्याःक्वः’ भनिन्छ। जात्राको चौथो दिन बिहान तालाक्वस्थित कुमाले टोलमा ल्हामरु म्ह यसींद्यो (हात नभएको लिङ्गो) उभ्याइन्छ भने साँझ तान्त्रिक विधिपूर्वक दशकर्म विधि गरी ५५ हात लामो यसींद्योः भेलुखेलस्थित ल्यसिङखेलमा उभ्याइन्छ। यसींद्योः उभ्याउने परम्परा बिस्काको अर्को ठूलो आकर्षण हो।
यसींद्योः उठेको राति नवदुर्गा देवगण त्यहाँ उपस्थित भई तलेजुमा दुमाजुको विशेष पूजा गरिन्छ। यसींद्योः उठ्नासाथ स्थानीय बाराही देवीको तिंप्वाः जात्रा र इन्द्रायणी देवीको त्वारिवा जात्रा मनाइन्छ। बिस्का जात्राको पाँचौं दिन अर्थात् नयाँ वर्ष वैशाख १ गते बिहानैदेखि चुपिङघाट र ल्यसिङखेलमा भक्तजनको भीड लाग्छ। यस दिन टोलटोलमा रहेका विभिन्न बाजागाजा बजाएर परम्परागत पोसाक लगाएर भैरव, भद्रकाली, बेताल र यसींद्योःको दर्शन पूजन गरिन्छ।
जात्राको छैटौँ दिन महाकाली र महालक्ष्मीको जात्रा मनाइन्छ। सातौँ दिन तचपालमा ब्रम्हायणी र महेश्वरीको जात्रा हुन्छ। त्यही दिन तालाक्वमा बटुकभैरव र ज्याठा गणेशको सिन्दूर जात्रा र खँलामा परदेशी भीमसेनको खटजात्रा मनाइन्छ। आठौँ दिन भक्तपुरका शक्तिशाली देवदेवीहरूलाई आफ्ना द्यो छेंबाट निकालेर प्रांगण, सतल र पाटीहरूमा राखेर पूजा गरी विभिन्न प्रसाद चढाएर द्यो स्वगं पूजा (सगुन जात्रा) मनाइन्छ। जात्राको अन्तिम दिन बिहान तालाक्वस्थित कुमाले टोलमा ल्हामरु म्ह यसींद्यो (हात नभएको लिङ्गो) ढाल्ने जात्रा मनाइन्छ।






