
२७ चैत, काठमाडौं । शुक्रबार मन्त्री बन्ने गौरीकुमारी यादव र रामजी यादवले आजै शपथ ग्रहण गर्ने छन्। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्न लागेका छन्। उनले श्रम मन्त्रीमा रामजी यादव र उद्योग मन्त्रीमा गौरीकुमारी यादवलाई नियुक्ति गर्न राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गरिसकेका छन्। प्रधानमन्त्री शाहको सचिवालयका अनुसार, उनीहरूको शपथ ग्रहण प्रक्रिया पनि आजै हुनेछ। यद्यपि, राष्ट्रपति कार्यालयले शपथ ग्रहणको समय अझै निश्चित नभएको जनाएको छ।
यसअघि हिजो श्रम मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका दिपक साहलाई प्रधानमन्त्री शाहले पदबाट मुक्त गरेका थिए। उद्योग मन्त्रालयको जिम्मेवारी भने प्रधानमन्त्री शाह आफैले सम्हाल्दै आएका थिए। रामजी सप्तरी क्षेत्र नं. २ बाट निर्वाचित सांसद हुन् भने गौरीकुमारी महोत्तरी क्षेत्र नं. ४ बाट निर्वाचित सांसद हुन्।






