
२७ चैत, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले युवा वर्गको चाहनाअनुसार काम गर्ने विश्वास व्यक्त गरेका छन्। शुक्रबार संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले भनेका छन्, ‘रोजगारीका नयाँ अवसर खोज्ने र बजारको माग अनुसार योग्य जनशक्ति उत्पादन गर्न सक्ने गरी शैक्षिक प्रणालीमा सुधार गरी विदेश पलायन भएका युवालाई आफ्नै देश र गाउँमा बस्न बसेर रमाइलो लाग्ने बनाउनु आजको मुख्य आवश्यकता हो र यसमा सरकारले विशेष ध्यान दिन्छ।’
जेनजी आन्दोलनपछिको अवस्थामा मुलुक अन्तरिम सरकारले अगाडि बढेको चर्चा गर्दै उनले समयमै निर्वाचन गराउन सहयोग गर्ने सबैलाई धन्यवाद दिए। निर्वाचनमार्फत नयाँ जनादेश प्राप्त भएकोले अब जनताको चाहना अनुसार कानून बनाउनुपर्ने उल्लेख गर्दै उनले न्यायपालिकाबाट छिटो र प्रभावकारी न्याय प्रदानमा जोड दिए। संविधान कार्यान्वयनका विगत दस वर्षको अनुभवलाई महत्वपूर्ण ठान्दै उनले भने, ‘संविधानको मर्म र भावना अनुसार अझ बढी काम गर्न बाँकी छ।’






