‘संविधान, संघीयता र धर्मनिरपेक्षतामा दायाँबायाँ गर्न खोजे प्रतिकार गर्छौं’

समाचार सारांश सम्पादकीय समीक्षा पश्चात तयार। श्रम संस्कृति पार्टीका सांसद आरेन राईले संविधान, संघीयता, धर्मनिरपेक्षता, लोकतन्त्रमा दायाँबायाँ गर्ने पक्षविरुद्ध प्रतिकार गर्ने चेतावनी दिनुभएको छ। उहाँले जात, धर्म, भूगोल, लिंगका आधारमा विभाजित नेपालीहरुलाई एउटै माला मिलाएर अगाडि बढाउन चाहेको बताउनुभयो। राईले मधेसबाट रुबीकुमारी ठाकुरलाई उपसभामुखको उम्मेदवार बनाएको जानकारी दिनुभयो। २७ चैत, काठमाडौं। श्रम संस्कृति पार्टीका सांसद आरेन राईले संविधान, संघीयता, धर्मनिरपेक्षता र लोकतन्त्रमा दायाँबायाँ गर्न खोज्नेहरुको सामना गर्ने चेतावनी दिनुभएको छ। उहाँले शुक्रबार प्रतिनिधिसभाको बैठकमा उपसभामुख पदका लागि रुबीकुमारी ठाकुरलाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव पेस गर्दै यस्तो बताउनुभयो। ‘श्रम संस्कृति पार्टी जात, धर्म, भूगोल र लिंगका आधारमा छुट्टिएर रहेका नेपालीहरुलाई एउटै माला मिलाएर अगाडि लैजान चाहन्छ,’ उहाँले भन्नुभयो, ‘संविधान, संघीयता, धर्मनिरपेक्षता र लोकतन्त्रमा दायाँबायाँ गर्ने हो भने प्रतिकार गर्नेछौं।’ श्रमको क्रान्तिद्वारा स्वतन्त्र नेपाल र स्वाभिमानी नेपालीहरु निर्माण गर्न चाहेको उल्लेख गर्दै, मधेस क्षेत्रबाट रुबीकुमारी ठाकुरलाई उपसभामुखको उम्मेदवार बनाएको जानकारी दिनुभयो।






