Skip to main content

भेटेरिनरी चिकित्सकलाई मेडिकल डाक्टर सरहको दर्जा दिन माग

रुपन्देहीमा सुरु भएको १६ औं राष्ट्रिय भेटेरिनरी सम्मेलनको उद्घाटन लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गर्नुभएको छ। मुख्यमन्त्री आचार्यले किसान र भेटेरिनरी चिकित्सकप्रति बढी सम्मान दिनुपर्ने बताएका छन् भने विभेदकारी कानुन सच्याउन प्रदेश सरकारले तयार रहेको जनाउनुभयो। सम्मेलनमा १५० भन्दा बढी अनुसन्धानपत्र प्रस्तुत गरिने र पशु स्वास्थ्य तथा नयाँ प्रविधिको विकासमा ठूलो टेवा पुग्ने विश्वास गरिएको छ।

‘दिगो पशुधन र खाद्य सुरक्षाको लागि स्वास्थ्य मार्ग’ भन्ने नारासहित मणिग्राम, रुपन्देहीमा शुरु भएको सम्मेलनको उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले कृषि र पशुपालन नै नेपालको दिगो विकास तथा आत्मनिर्भरताको मूल आधार भएको उल्लेख गर्नुभयो। उहाँले किसान र पशुपंक्षी उपचार गर्ने भेटेरिनरी चिकित्सकलाई अझ बढी सम्मान दिनुपर्नेमा जोड दिनुभयो। उहाँले भन्नुभयो, ‘हामीमा मानव उपचार गर्ने डाक्टरलाई मात्र सम्मान गरिन्छ, तर दूध, मासु र गोबर दिने गाई, भैंसी, बाख्रा जस्ता पशुधन पाल्ने किसान र पशु चिकित्सकलाई सम्मान नगर्ने सोच गलत हो।’

पशुपंक्षी चिकित्सक र भेटेरिनरी जनशक्तिलाई राज्यले हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनु आवश्यक रहेको भन्दै मुख्यमन्त्री आचार्यले विभेदकारी कानुन सच्याउन प्रदेश सरकार तयार रहेको पनि जनाउनुभयो। भेटेरिनरी जनशक्ति तथा पशु चिकित्सकलाई प्रोत्साहन गर्न आवश्यक औँल्याउँदै उहाँले यस क्षेत्रमा गम्भीर प्रयास आवश्यक रहेको बताए। सम्मेलनमा नेपाल भेटेरिनरी एसोसिएसनका अध्यक्ष डा. केदार सुवेदीले भेटेरिनरी चिकित्सकहरूलाई मेडिकल डाक्टर सरहको दर्जा र सेवा सुविधा प्रदान गर्न बारम्बार माग राख्दै आएका छन्।

अध्यक्ष सुवेदीले आफ्नो पेशाप्रति गरिने असमानता र विभेदको गुनासोलाई उजागर गर्दै सरकारले नीति र बजेटमा अपेक्षित प्राथमिकता नदिएको बताए। उनले नीति निर्माणमा नेपाल भेटेरिनरी एसोसिएसनका विज्ञहरूको सहभागिता सुनिश्चित गर्नुपर्ने र औषधि ऐन तथा पशु चिकित्सा परिषद् ऐनजस्ता कानुन संशोधन गर्दा विज्ञहरूको सुझाव लिनुपर्ने आग्रह गरे। सम्मेलनमा कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनकी उपकुलपति प्रा. डा. शारदा थपलिया, कृषि तथा पशु पन्छी विकास मन्त्रालयका सहसचिव डा. रामानन्दन तिवारी, हेफर इन्टरनेसनलका कन्ट्री डाइरेक्टर डा. तीर्थ रेग्मी लगायतले पशुपंक्षीपालन मुलुकको आर्थिक समृद्धिको एक बलियो पक्ष भए पनि तीनै तह सरकारको नीति, कार्यक्रम र बजेटमा प्राथमिकतामा नरहेको बताउँदै प्राथमिकतामा राख्न र भेटेरिनरी जनशक्तिलाई प्रोत्साहन तथा नयाँ खोज अनुसन्धानमा लगानी बढाउन सुझाव दिए। सम्मेलनमा १५० भन्दा बढी अनुसन्धानपत्र प्रस्तुत गरिने र समूहगत छलफल हुने पनि जनाइएको छ। यस सम्मेलनले नेपालको पशु स्वास्थ्य, अनुसन्धान तथा नयाँ प्रविधिको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने आशा गरिएको छ।