
सीजी हस्पिटालिटीले गोरखामा अन्तर्राष्ट्रिय स्तरको लक्जरी पर्यटकीय गन्तव्य विकास गर्ने उद्देश्यले समिट होटलको शिलान्यास गरेको छ। समिट होटल परियोजना दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित ३० रोपनी क्षेत्रफलमा ३० वटा लक्जरी कोठासहित निर्माण हुनेछ। चौधरी ग्रुपले पर्यटन क्षेत्रको विकासमा योगदान गर्दै गोरखामा रोजगारी सिर्जना र स्थानीय अर्थतन्त्र सुदृढीकरण गर्ने योजना बनाएको छ। २७ चैत, काठमाडौं।
व्यावसायिक घराना चौधरी ग्रुपअन्तर्गतको सीजी हस्पिटालिटीले गोरखालाई अन्तर्राष्ट्रिय स्तरको लक्जरी पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले चर्चित लक्जरी हेरिटेज ‘समिट होटल’को बिहीबार शिलान्यास गरेको छ। काठमाडौं उपत्यकामा अवस्थित चर्चित ‘समिट होटल’बाट प्रेरणा लिएर यस परियोजनालाई आधुनिक सुविधा र नेपाली मौलिकतासहित स्तरीय लक्जरी रिसोर्टका रूपमा विकास गरिने कम्पनीले जनाएको छ।
सीजी हस्पिटालिटीका अनुसार सन् १९७८ मा स्थापित ललितपुरको ऐतिहासिक समिट होटलको विरासतलाई नयाँ रूप दिँदै गोरखामा निर्माण हुने यस परियोजनाले आधुनिक सुविधा र नेपाली मौलिकता दुवैलाई समेट्नेछ। करीब ३० रोपनी क्षेत्रमा फैलने यस परियोजनालाई दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। ३० वटा लक्जरी कोठा रहने यस होटलको रुम रेट करिब ५ सय अमेरिकी डलर आसपास रहने अपेक्षा गरिएको छ।
समिट होटलले नेपालभित्रका साथै विदेशबाट आउने पर्यटकहरूलाई लक्षित गर्न स्तरीय सेवा प्रदान गर्ने छ। सीजी हस्पिटालिटीको भनाइअनुसार परियोजनाको प्रमुख उद्देश्य गोरखालाई नेपालका प्रमुख लक्जरी पर्यटकीय गन्तव्यहरूको सर्किटमा समावेश गर्नु हो। ऐतिहासिक तथा सांस्कृतिक दृष्टिले महत्त्वपूर्ण गोरखा दरबार नजिकै निर्माण हुने यस परियोजनाले नेपालको इतिहास, मौलिकता र संस्कृतिलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ।






