Skip to main content

२४ घण्टाभित्र देशभरिका विमानस्थलमा चार प्रकारका सेवा थप्न निर्देशन

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले देशभरिका विमानस्थलमा चार प्रकारका सेवा थप्ने वा स्तरोन्नति गर्ने २४ घण्टाभित्र निर्देशन दिएको छ। मन्त्रालयले विमानस्थलमा स्तनपान तथा शिशु हेरचाह कक्ष, बिरामी र विशेष आवश्यकताको यात्रुका लागि प्राथमिकता हेरचाह कक्ष स्थापना गर्न भनेको छ। साथै, नि:शुल्क स्यानिटरी प्याड उपलब्ध गराउन, सरसफाइ मापदण्ड कडा पालन गर्न र नियमित निरीक्षण गर्न निर्देशन जारी गरिएको छ।

२७ चैत, काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विभिन्न चार प्रकारका सुविधा थप्ने वा स्तरोन्नति गर्ने सम्बन्धमा देशभरिका विमानस्थल कार्यालयलाई निर्देशन प्रदान गरेको छ। मन्त्रालयका सचिव मुकुन्द्रप्रसाद निरौलाले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई पत्र मार्फत विमानस्थलहरूको सेवा गुणस्तर सुधार गर्न २४ घण्टाभित्र यी सेवा थप्ने वा स्तरोन्नति गर्ने निर्देशन दिएका छन्।

मन्त्रालयले विमानस्थलहरूमा स्तनपान र शिशु हेरचाह कक्ष स्थापना गर्न भनिएको छ। सफा, सुरक्षित र गोपनीयतालाई सुनिश्चित गर्ने स्तनपान/बेबी–चेन्जिङ कक्ष सञ्चालन गर्न वा आवश्यकताअनुसार स्तरोन्नति गर्न निर्देशन दिइएको छ। बिरामी तथा विशेष आवश्यकताका यात्रुका लागि प्राथमिकता हेरचाह कक्ष स्थापना गर्न पनि निर्देशन जारी गरिएको छ।

साथै, मन्त्रालयले नि:शुल्क स्यानिटरी प्याड उपलब्ध गराउन भनेको छ। चौथो निर्देशन अनुसार विमानस्थल परिसरमा सरसफाइ तथा स्वच्छता मापदण्ड कडाइका साथ पालन गर्नुपर्नेछ। दैनिक सरसफाइको लागि लगबुक प्रणाली लागू गर्ने, विश्व स्वास्थ्य संगठन र अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनले तोकेको जनस्वास्थ्य मापदण्ड कडाइका साथ पालन गर्नुपर्नेछ। मन्त्रालयका अनुसार यदि विमानस्थल कार्यालयले २४ घण्टाभित्र प्रतिवेदन, फोटो प्रमाण र लगबुक विवरण पेश नगरे कारबाही हुनेछ। साथै, यात्रुले विमानस्थलमा कुनै गुनासा भएमा ९८५१३१२७२२ नम्बरमा ह्वाट्सएपमार्फत सम्पर्क गर्न सक्ने व्यवस्था गरिएको छ।