Skip to main content

वार्ताअघि इरानी संसद् अध्यक्ष गालिबाफले अमेरिकाप्रति देखाए असन्तोष

२८ चैत, काठमाडौं । इरानी संसदका अध्यक्ष मोहम्मद बगर गालिबाफले अमेरिकामाथि भरोसा नगर्ने बताएका छन्। उच्चस्तरीय वार्ताका लागि पाकिस्तान पुगेका गालिबाफले, वार्ता सुरु हुनुअघि इस्लामाबादबाट यस्तो प्रतिक्रिया दिएका हुन्। बीबीसीका अनुसार, इस्लामाबाद पुगेपछि प्रतिनिधिमण्डलसँग आएका इरानी पत्रकारहरूसँग कुरा गर्दै गालिबाफले भने, एक वर्षभन्दा कम अवधिमा दुई पटक असल मनसायले वार्ता भए पनि इरानमाथि आक्रमणहरू जारी रहेको र धेरै युद्ध अपराधहरु भएको बताएका छन्।

‘हाम्रो उद्देश्य सही छ, तर हामीलाई अमेरिकाप्रति भरोसा छैन,’ उनले भने। इरानी रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) सम्बन्धित सरकारी समाचार एजेन्सी ‘तसनिम’ का अनुसार, गालिबाफले यदि अमेरिकाले साँचो सम्झौताका लागि तयार भयो र इरानी नागरिकको वैध अधिकार मान्यता दियो भने, इरान पूर्ण रूपमा सम्झौताका लागि तत्परता देखाउने बताए।

‘यदि अमेरिकाले वार्तालाई शक्ति प्रदर्शन वा धोका दिने रणनीतिमा प्रयोग गर्न चाहे, इरान आफ्ना नागरिकको अधिकारको सुरक्षा गर्न आफ्नो क्षमतामा भरोसा गर्नेछ,’ उनले थपे। वार्ताका लागि अमेरिका र इरानको उच्चस्तरीय टोली आज पाकिस्तानको इस्लामाबादमा पुगेका छन्। त्यहाँको सुरक्षा व्यवस्थालाई कडा बनाइएको छ।