
भारतीय सांगीतिक इतिहासकी सबैभन्दा चर्चित र बहुमुखी गायिकामध्ये आशा भोसले नेपाली संगीत क्षेत्रमा पनि अत्यन्तै महत्वपूर्ण छिन्। मातृभाषा फरक भए तापनि उनले धेरै नेपाली गीतहरूमा स्वर दिएका छन्, जुन उनको बहुमुखी प्रतिभाको प्रमाण हो। सन् १९४३ मा मराठी फिल्म ‘माझा बल’बाट सुरु भएको उनको सांगीतिक यात्रा एक समयमा नेपाली संगीतलाई विशेष योगदान पुर्याएको थियो। नेपाली चलचित्र क्षेत्रमा पनि उनको प्रभाव व्यापक थियो। उनले नारायण गोपाल, रञ्जित गजमेर, सम्भुजित बास्कोटा, कुसुम गजमेर, तुलसी घिमिरे, किरण खरेल, यादव खरेलजस्ता संगीतकारहरूसँग सहकार्य गरेकी छिन्। यहाँ उनले गाएका केही प्रसिद्ध नेपाली गीतहरूको सूची प्रस्तुत गरिएको छ।
१. साउने झरीमा.. रञ्जित गजमेरको संगीत र कुसुम गजमेरको शब्द रहेको यस गीतमा आशा भोसलेले आवाज दिएकी छिन्।
२. बसन्त नै बस्न खोज्छ यहाँ… ६ दशकभन्दा पुरानो माइतीघर फिल्मको लोकप्रिय गीत ‘माइतीघर.. माइतीघर…’ अझै पनि स्कूल, कलेजका कार्यक्रम तथा विभिन्न समारोहहरूमा चर्चित छ। संगीत जयदेवले भरेका हुन् भने शब्द किरण खरेलका छन्।
३. मोहनी लाग्ला है… फिल्म ‘चिनो’मा रहेको यस गीतमा आशा भोसले र नारायण गोपालले संयुक्त रूपमा स्वर दिएका छन्। गीतमा रञ्जित गजमेरको संगीत र कुसुम गजमेरको शब्द छ।
४. पहाडको माथि माथि.. फिल्म ‘लाहुरे’ को यस गीतमा पनि आशा भोसले र नारायण गोपालको स्वर सुन्न सकिन्छ। गीतको शब्द कुसुम गजमेर र तुल्सी घिमिरेले लेखेका हुन् भने संगीत रञ्जित गजमेरको हो।
५. को होला मेरो मायालु…. फिल्म ‘मायालु’मा समावेश यो गीतमा आशा भोसलेले स्वर दिएकी छिन्। रञ्जित गजमेरको संगीत र कुसुम गजमेरको शब्दयुक्त यो गीत लोकप्रिय छ।
६. आज हाम्रो भेट भाको दिन… यस गीतमा आशा भोसले र उदित नारायण झाको आवाज समेटिएको छ। पछिल्लो समयमा फिल्म ‘ब्रेकअप’मा पनि प्रयोग गरिएको यो गीतमा शिला बहादुर मोक्तानले संगीत भरेका छन् भने चेतन कार्कीले शब्दहरू लेखेका छन्।
७. माया त माया हो… यस गीतमा पनि आशा भोसले र नारायण गोपालको स्वर सुन्न पाइन्छ। गीतमा रञ्जित गजमेरको संगीत र कुसुम गजमेरको शब्द छ।
८. गैरी खेतको शिरै हान्यो… यस गीतलाई विशेष गरी विद्यालयहरूमा नाच्नका लागि मनपराइन्छ। संगीत सम्भुजित बास्कोटाले भरेका छन् भने शब्द यादव खरेलले लेखेका हुन्।
९. यति धेरै माया दियौ.. आशा भोसले र प्रकाश श्रेष्ठको दोहोरी स्वर सुनिने गीतमा चेतन कार्कीले शब्द र मोहनहरी सिंहले संगीत भरेका छन्।
१०. टाढा भै नदेउ फेरि… फिल्म ‘मायालु’को यस गीतमा आशा भोसले र प्रेमध्वज प्रधानको संयुक्त स्वर सुन्न पाइन्छ। रञ्जित गजमेरले संगीत संयोजन गरेका छन्।






