Skip to main content

भारतमाः वैवाहिक बलात्कारको मुद्दालाई उजागर गर्ने वेब सिरिज ‘चिरैया’

वैवाहिक बलात्कारलाई अपराधको श्रेणीमा राख्न लगातार इन्कार गरिँदै आएको भारतमा एउटा नयाँ वेब सिरिजले उक्त गम्भीर मुद्दालाई पुन: चर्चाको केन्द्रमा ल्याएको छ। ‘चिरैया’ नामको उक्त वेब सिरिज मार्च महिनामा ‘जियो-हटस्टार’मा प्रसारित भयो। ‘चिरैया’ साना चराहरूलाई जनाउने हिन्दी शब्द हो। अहिलेसम्म लाखौँले उक्त श्रृंखला हेरिसकेका छन् र यो उक्त नेटवर्कमा पछिल्ला महिनाहरूकै लोकप्रिय वेब सिरिज बनेको छ। सामान्यतया वर्जित (ट्याबू) मानिने विषयलाई उजागर गरेको भन्दै समीक्षकहरूले यसको प्रशंसा गरेका छन्। यसले सहमति (कन्सेन्ट) र स्त्रीद्वेषी सोचबारे सामाजिक सञ्जालमा बहस पनि जन्माएको छ। तर सँगसँगै केही टिप्पणीकारहरूले यसलाई “पुरुषविरोधी” र “वैवाहिक सम्बन्धको पवित्रता कमजोर पार्ने प्रयास” भनेर आलोचना समेत गरेका छन्।

उक्त वेब सिरिजकी लेखिका दिव्य निधि शर्माका अनुसार यसको कथा कमलेश र पूजा नामका दुई महिलाहरूको वरिपरि घुम्छ। अभिनेत्री दिव्या दत्ता कमलेशको भूमिकामा छिन्। उनी “महिलाहरूले खाना पकाउने र घरधन्दामा रुचि राख्नुपर्छ” भन्ने सोच भएकी मध्यम उमेरकी गृहिणी हुन्। त्यस्तै प्रशन्ना पूजाको भूमिका छिन्। पूजा शिक्षित र सामाजिक रूपमा सचेत छिन् र लैङ्गिक समानता र सम्मानको कुरा गर्छिन्। कमलेशद्वारा आफ्नै छोरा झैँ हुर्काइएका देवर अरुणसँग पूजाको विवाह भएपछि उनीहरूको संसार भद्रगोल हुन्छ। अरुण पूजाका निम्ति उत्तम जोडी हुने ठानिएको हुन्छ तर विवाहको रातमै उसले बलात्कार गरेपछि पूजाको सुखद दाम्पत्य जीवनको सपना चकनाचुर हुन्छ।

सरकारी तथ्याङ्क अनुसार, विवाहितमध्ये लगभग ६.१ प्रतिशत भारतीय महिलाहरूले यौन हिंसाको सामना गरेका छन्। तर भारत, अभियानकर्मीहरूको वर्षौँको पैरवीका बावजुद पाकिस्तान, अफगानिस्तान र साउदी अरबसहित ती तीन दर्जन देशहरूमा पर्दछ जहाँ वैवाहिक बलात्कारलाई अपराध घोषित गरिएको छैन। अभियानकर्मीहरूले हालैका वर्षहरूमा वैवाहिक बलात्कारलाई अपराध घोषित गर्न माग गर्दै सर्वोच्च अदालतमा कैयौँ निवेदन दिएका छन्। तर सरकार, धार्मिक समूहहरू र पुरुष अधिकारकर्मीहरूले औपनिवेशिक युगको कानुन संशोधन गर्ने कुनै पनि योजनाको विरोध गर्दै आएका छन्।

अभिनेत्री दत्ताका अनुसार यो वेब सिरिजको मुख्य विषय “सहमति” हो र त्यसमा पनि विशेषगरी विवाहभित्रको सहमति, जसलाई धेरैले अत्यन्तै विशेष सम्बन्धका रूपमा हेर्छन्। “वैवाहिक बलात्कारबारे कुरा गर्न अझै पनि धेरै कठिन छ। यस्तो अनुभवबाट गुज्रने धेरै महिलाहरू यो केवल आफ्नो मात्रै भोगाइ होला भन्ने ठान्छन्। सँगसँगै उनीहरूलाई यसबारे बोले समाजमा बदनाम भइन्छ र घरव्यवहार बिग्रिन्छ भन्ने पनि लाग्छ,” उनले भनिन्।