
कामना सेवा विकास बैंकले रुपन्देहीको सियारी ६, बर्दहवास्थित दुर्गा देवी माध्यमिक विद्यालयमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ। शिविरमा हाडजोर्नी, नशा, स्त्री प्रसूति, नाक, कान, घाँटी, आन्तरिक र दाँत तथा मुख रोगहरूको परीक्षण गरिएको थियो। ६०० भन्दा बढीले स्वास्थ्य परीक्षण गराएका थिए र डाक्टरहरूले परामर्श तथा सुझाव प्रदान गरेका थिए। २९ चैत, रुपन्देही।
कामना सेवा विकास बैंकले रुपन्देही जिल्लाको सियारी ६, बर्दहवास्थित दुर्गा देवी माध्यमिक विद्यालयको परिसरमा निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको छ। उक्त स्वास्थ्य शिविरमा हाडजोर्नी तथा नशा रोग, स्त्री तथा प्रसूति रोग, नाक, कान तथा घाँटी रोग, आन्तरिक रोग र दाँत तथा मुख रोग परीक्षण गरिएको थियो। लुम्बिनी हस्पिटल, लुम्बिनी नेत्रालय तथा हरे कृष्ण डेन्टल बुटवलको प्राविधिक सहयोगमा सम्पन्न उक्त स्वास्थ्य शिविरमा कुल ६०० भन्दा बढीले स्वास्थ्य परीक्षण गरेका थिए।
कार्यक्रमको मुख्य उद्देश्य समुदायका व्यक्तिहरूलाई प्रारम्भिक चरणमै स्वास्थ्य समस्याको पहिचान गर्न सहयोग पुर्याउनु र स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि तथा रोकथाम गर्नु रहेको बैंकले जनाएको छ। सहभागीहरूलाई स्वास्थ्य परीक्षण, परामर्श तथा आवश्यक सुझाव डाक्टरहरू सम्राट पराजुली, आलोक थैव, जीवन आत्रेय, अनिता पुन, कृष्णबहादुर श्रेष्ठ, विश्व तुलाचन, प्रकाश भट्टराई र स्मिता दर्लामीले प्रदान गरेका थिए।
कार्यक्रममा बोल्दै बैंकका सञ्चालक भीमप्रसाद तुलाचनले यस्ता स्वास्थ्य शिविरहरूले समुदायको स्वास्थ्य स्तर सुधार गर्न महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरेका हुन्। बुटवल क्षेत्रीय प्रमुख हेमन्त बाबु आचार्यले स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि गर्न यस्ता कार्यक्रमहरू प्रभावकारी हुने बताएका छन्।






