Skip to main content

पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया आज हुँदै

३० चैत, काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको पित्तथैलीको शल्यक्रिया आज आयोजना हुँदैछ। उपचारमा संलग्न चिकित्सकहरूले यसअघि नै आजको मिति तोकेका थिए। पूर्वतयारी अनुसार ओलीलाई अपरेसन थिएटरमा लगेका छन्। डा. पलेस्वाँ जोशी लाखे नेतृत्वको टोलीले उनको शल्यक्रिया गरी पित्तथैलीमा रहेका पत्थरी निकाल्नेछ। ओलीको पित्तथैलीमा २२ एमएमको ढुंगा रहेको छ।

यसअघि नयाँ सरकार गठन भएको भोलिपल्टै ओली जेनजी आन्दोलन दमन गरेको आरोपमा पक्राउ परेका थिए। पक्राउ परेको दिनदेखि नै उनी त्रिवि शिक्षण अस्पतालमा भर्ना छन्। ओलीको गिरफ्तारी पछि उनकी पत्नी राधिका शाक्य गैरकानुनी हिरासतमा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दिइसकेकी छिन्। सर्वोच्च अदालतले २३ चैत बेलुका पूर्वप्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकमाथि भइरहेको अनुसन्धान २६ चैत बिहीबारसम्म टुंग्याउन आदेश दिएको थियो। यदि बिहीबारसम्म अनुसन्धान पूरा नभएमा शर्तसहित छोड्न आदेश दिएको थियो। सोही अनुसार प्रहरीले ओलीलाई अस्पतालबाट उनकी पत्नी राधिका शाक्यको जिम्मा लगाएको थियो। थुनामुक्त भएका भए पनि शल्यक्रियाका लागि उनी अस्पतालमै छन्।