Skip to main content

लिनक्स ७.० सार्वजनिक, नयाँ ‘सेल्फ-हिलिङ’ प्रविधि र एआई फिचरहरू सहित

लिनक्स कर्नेलको नयाँ संस्करण ‘लिनक्स ७.०’ आधिकारिक रूपमा सार्वजनिक गरिएको छ। लिनस टोरभाल्ड्सले अघिल्लो संस्करण ‘६.१९’ पछि संस्करण संख्या ७.० मा अपग्रेड गर्दै यस नयाँ कर्नेल रिलिज गरेका हुन्। यस संस्करणमा सेल्फ-हिलिङ एक्सएफएस, नयाँ एआई एजेन्ट इन्टरयाक्सन, नवीन हार्डवेयर समर्थन र सुरक्षा सुधारहरू समावेश गरिएको छ। यो नयाँ कर्नेल विशेष गरी आउँदै गरेको ‘युबुन्टु २६.०४ एलटीएस’ को मुख्य आधारका रूपमा काम गर्नेछ।

यस संस्करणका मुख्य विशेषताहरूले कम्प्युटरको कार्यक्षमता र सुरक्षालाई नयाँ स्तरमा पुर्‍याउने अपेक्षा गरिएको छ। सेल्फ-हिलिङ एक्सएफएस फाइल सिस्टममा साना त्रुटिहरूलाई आफैं पत्ता लगाएर समाधान गर्न सक्षम छ, जसले डाटा गुम्ने जोखिमलाई घटाउँछ।

एआई एजेन्ट इन्टरयाक्सनका लागि नयाँ किबोर्ड बटनहरूको लागि एचआईडी कोडहरू थपिएका छन्, जसले भविष्यमा आउने ल्यापटपहरूमा एआई एजेन्टसँग सहज संवाद गर्न सहयोग पुर्‍याउनेछ। नयाँ हार्डवेयर समर्थनमा इन्टेलको ‘नोभा लेक’, ‘क्रेसेन्ट आइल्यान्ड’ र एएमडीका नयाँ ग्राफिक्स कार्डहरूको पूर्ण समर्थन उपलब्ध गराइएको छ।

सुरक्षा र प्रदर्शन सुधारमा पनि विशेष ध्यान दिइएको छ। वर्षौंसम्म लुकेको एक्स.५०९ सर्टिफिकेट कोडको सुरक्षा त्रुटि सुधारिएको छ भने एएमडी जेन ३ प्रोसेसरमा देखिएका केही प्राविधिक समस्याहरूलाई समेत समाधान गरिएको छ। साथै, आर्मरी ड्राइभरमा आसुसका नयाँ उपकरणहरूको ड्राइभर समर्थन थप गरिएको छ, जसले गेमिङ ल्यापटप प्रयोगकर्ताहरूलाई फाइदा दिनेछ। लिनक्स ७.० को रिलिजपछि अब ७.१ संस्करणको विकास प्रक्रिया पनि सुरु भइसकेको छ।