सांसद उप्रेतीले प्रधानमन्त्री बालेन शाहलाई हेटौंडा कपडा उद्योग पुनः सञ्चालनको माग राखे

३० चैत, काठमाडौं । मकवानपुर–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य प्रशान्त उप्रेतीले हेटौंडा कपडा उद्योग पुनः सञ्चालन गर्न प्रधानमन्त्री बालेन शाहको ध्यानाकर्षण गराएका छन् । सोमबार प्रधानमन्त्री कार्यालयमा भएको भेटका क्रममा सांसद उप्रेतीले वर्षौंदेखि हेटौंडा कपडा उद्योगसहित आफ्नो क्षेत्रमा थन्किएका पूर्वाधार, स्वास्थ्य, उद्योग, भूमि तथा विपद् व्यवस्थापनसँग सम्बन्धित मुद्दा समाधान गरिदिन आग्रह गरेका छन्।
भेटका क्रममा उनले थानकोट–चित्लाङ सडकको जीर्ण अवस्थालाई सुधार गरी गुणस्तरीय र समयमै निर्माण सम्पन्न गर्नुपर्ने, कुन्छाल–कुलेखानी सडकखण्डलाई प्राथमिकतामा राखी काम सुरु गर्नुपर्ने तथा अन्य सडकहरूको स्तरोन्नतिमा सरकारले ध्यान दिनुपर्ने बताएका छन्। त्यस्तै, हेटौंडा कपडा उद्योग पुनः सञ्चालन गर्नुपर्ने, हेटौंडा क्षेत्रको सडक विस्तारका कारण नागरिकहरूको घरजग्गा अलपत्र परेको अवस्थामा तत्काल समाधान गर्नुपर्ने माग पनि उनले राखेका छन्।
सांसद उप्रेतीले स्वास्थ्य क्षेत्रतर्फ हेटौंडा अस्पतालमा क्याथल्याब तथा हार्ट–लङ मेसिन जडान गर्नुपर्ने बारेमा समेत प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन्। उनले भूमिहीन समस्या समाधान गर्नुपर्ने, मध्यवर्ती क्षेत्रको न्यायसंगत पुनर्सीमाङ्कन तथा गाँजाको वैधानिकतासम्बन्धी वैकल्पिक नीति निर्माण गर्दै भरिया समुदायको जीवनस्तर उकास्न ठोस सरकारी योजना आवश्यक रहेकोसमेत बताएका छन्।
विपद् व्यवस्थापनतर्फ चट्याङ रोकथामका लागि दीर्घकालीन गुरुयोजना निर्माण गर्नुपर्ने, कुलेखानी बाढीबाट प्रभावित सिस्नेरी क्षेत्रका पीडितलाई क्षतिपूर्ति तथा पुनर्स्थापनाको व्यवस्था गर्नुपर्ने माग उनले राखेका छन्। यसका साथै, चेपाङ र बाँकरिया जस्ता लोपोन्मुख समुदायको संस्कृति संरक्षण र जीवित संग्रहालय स्थापना गर्नुपर्ने विषय पनि उनले उठाएका छन्। प्रधानमन्त्री शाहले आफूले उठाएका सबै विषयमा सकारात्मक प्रतिक्रिया दिएका छन् भने सांसद उप्रेतीले बताएका छन्।






