
पृथु बास्कोटा कर्पोरेट टी-१० लिगका ब्रान्ड एम्बासडर नियुक्त भएका छन्। उनले आफूलाई ब्रान्ड एम्बासडर बनाउनुमा अत्यन्त उत्साहित र गर्व महसुस भएको बताएका छन्। कर्पोरेट टी-१० लिग वैशाख १० देखि १७ गतेसम्म काठमाडौंको तल्लो मुलपानी क्रिकेट मैदानमा आयोजना गरिनेछ।
काठमाडौं स्पोर्ट्स एन्ड इभेन्ट्स प्रालिद्वारा आयोजना हुन लागेको कर्पोरेट टी-१० लिगका लागि नेपाली राष्ट्रिय क्रिकेट खेलाडी पृथु बास्कोटा ब्रान्ड एम्बासडरका रूपमा नियुक्त भएका छन्। आज आयोजित औपचारिक कार्यक्रममा उनलाई लिगको ब्रान्ड एम्बासडरको रूपमा सार्वजनिक गरियो। पृथु बास्कोटा नेपालका अनुभवी क्रिकेटरमध्ये एक मानिन्छन्।
बास्कोटा आफ्नो स्थिर प्रदर्शन र खेलप्रतिको समर्पणका लागि प्रख्यात छन्। उनले नेपाल राष्ट्रिय टोलीबाट खेल्दै विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्। कार्यक्रममा बोल्दै बास्कोटाले आफूलाई कर्पोरेट टी–१० लिगको ब्रान्ड एम्बासडर बन्न पाउँदा अत्यन्त उत्साहित र गौरवान्वित महसुस भएको बताए।
काठमाडौं स्पोर्ट्स एन्ड इभेन्ट्स प्रालिका निर्देशक ज्योति भण्डारीले पृथु बास्कोटालाई ब्रान्ड एम्बासडरको रूपमा स्वागत गर्न पाउँदा खुशी लागेको बताए। उनले भने, ‘पृथु जस्ता अनुभवी र प्रेरणादायी खेलाडीको साथले हाम्रो प्रतियोगिता अझ उचाइमा पुर्याउने विश्वास लिएका छौं।’






