इरानले आफ्नो परमाणु कार्यक्रम ५ वर्षका लागि स्थगित गर्ने प्रस्ताव राख्यो, अमेरिका २० वर्षको प्रतिबन्धको पक्षमा दृढ

१ वैशाख, काठमाडौं। पाकिस्तानको इस्लामावादमा आयोजित अमेरिका र इरानबीचको युद्धविराम वार्ता निष्कर्षविहीन भएपछि तनाव थप बढेको छ। इरानले आफ्नो परमाणु परियोजना ५ वर्षका लागि रोक्ने प्रस्ताव राखे पनि अमेरिका तर्फबाट २० वर्षसम्म प्रतिबन्ध लगाउनुपर्ने अडानले गर्दा वार्ता निष्कर्षबिना समाप्त भएको छ। न्युयोर्क टाइम्सको रिपोर्ट अनुसार, इस्लामावाद वार्तामा इरानले परमाणु गतिविधि ५ वर्षका लागि स्थगित गर्ने प्रस्ताव गरेको थियो। तर अमेरिकाले २० वर्षसम्म कुनै पनि परमाणु गतिविधि नगर्नुपर्ने र इरानसँग रहेको प्रशोधित युरेनियम फिर्ता गर्नुपर्ने सर्त राखेको छ। अमेरिकी उपराष्ट्रपति जेडी भान्सले ‘बल अब तेहरानको कोर्टमा’ रहेको भन्दै, इरानले परमाणु हतियार नबनाउने पक्का ग्यारेन्टी दिनुपर्ने बताए।
इरानी प्रतिनिधिमण्डलसँग अन्तिम निर्णय गर्ने अधिकार नभएको कारण सम्झौता हुन नसकेको उनको भनाइ छ। यद्यपि पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ र रक्षामन्त्री ख्वाजा आसिफले वार्ता सकारात्मक दिशातर्फ अगाडि बढिरहेको र छिट्टै अर्को चरणको वार्ता हुने आशा व्यक्त गरेका छन्। ट्रम्पले नाकाबन्दीपछि इरान सम्झौताका लागि आतुर रहेको दाबी गरेका छन्। उनले यदि युद्धविरामको समयसीमा भित्र सम्झौता नभए इरानले गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन्।
इरानका राष्ट्रपति मसुद पेजेस्कियनले फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंसँग टेलिफोनमा कुराकानी गर्दै अमेरिकाले अन्तर्राष्ट्रिय कानुनको पालना गराउन युरोपले सकारात्मक भूमिका खेल्नुपर्ने बताए। यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा अमेरिकी नौसेना होर्मुज स्ट्रेटमा समुद्री नाकाबन्दी सुरु गरेको छ। सोमबार साँझदेखि होर्मुज जलसन्धिमा अमेरिकी समुद्री नाकाबन्दी लागू भएको छ। अमेरिकाले मध्यपूर्वमा विमानवाहक जहाज ‘युएसएस अब्राहम लिंकन’ र ११ वटा डिस्ट्रोयरसहित कम्तीमा १५ वटा युद्धपोत तैनाथ गरेको छ। ट्रम्पले अमेरिकी नाकाबन्दीको नजिक जाने कुनै पनि इरानी जहाजलाई लागूऔषध तस्करको जहाजझैं तुरुन्त र कडाइका साथ नष्ट गरिने चेतावनी दिएका छन्।
नाकाबन्दी सुरु भइरहँदा ‘रिच स्टारी’ र ‘अस्ट्रिया’ नाम गरेका दुई तेल ट्यांकरहरूले होर्मुजबाट बाटो मोडेर फर्किएका छन्। यसैबीच इरानी विदेशमन्त्री अब्बास अराघचीले रुसी समकक्षी सर्गेई लाभरोभसँग कुराकानी गर्दै होर्मुजमा अमेरिकाको उक्साहटपूर्ण गतिविधि विश्व शान्तिको लागि खतरा हुने चेतावनी दिएका छन्। इरानले आफ्ना बन्दरगाहहरूमा आक्रमण भएमा फारसको खाड़ी र ओमान सागरका कुनै पनि बन्दरगाह सुरक्षित नरहने चेतावनी पनि दिएको छ।
विश्व बजारमा कच्चा तेलको मूल्य बढेर प्रति ब्यारेल १०० डलरभन्दा माथि पुगेको छ। यद्यपि पुनः वार्ताका लागि सानो आशा देखिएपछि अमेरिकी सेयर बजार (एस एन्ड पी ५०० र न्यासड्याक) मा सामान्य वृद्धि आएको छ। ट्रम्पले चीनलाई इरानलाई सैन्य मद्दत गरेमा गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन्। तर चिनियाँ राष्ट्रपति सी चिनफिङ युद्ध अन्त्यको पक्षमा रहेको ट्रम्पको विश्वास छ। ट्रम्पले आगामी मे १४ र १५ मा बेइजिङ भ्रमण गर्ने तय पनि गरेका छन्।






