
१ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले नयाँ वर्षको अवसरमा चारवटा नयाँ संकल्प प्रस्तुत गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै देशको बदलिँदो परिस्थिति र नागरिकका अपेक्षाहरूलाई ध्यानमा राख्दै चार विषयमा जीवन समर्पित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
पार्टीभित्रका सबै मतभेदलाई संवादमार्फत समाधान गर्दै कांग्रेसलाई कानुन र प्रक्रियामा आधारित एकताबद्ध, आधुनिक र प्रविधिमुखी पार्टी बनाउन तथा नयाँ पुस्ताका नवीन सपना र विचारलाई पार्टीको मुख्य प्रवाहमा जोड्न निरन्तर सक्रिय रहने उनले बताएका छन्।
ज्ञानमा आधारित अर्थतन्त्र र युवा उद्यमशीलतालाई राष्ट्रिय बहसको मुख्य एजेन्डा बनाउँदै युवा जनशक्तिलाई स्वदेशमै मर्यादित अवसर सिर्जना गर्ने ठोस नीतिगत नेतृत्व र कार्यान्वयनका लागि क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरेका छन्।
‘भ्रष्टाचारविरुद्ध शून्य सहिष्णुताको नीति व्यवहारमा उतार्दै राजनीतिलाई जनसेवा र सदाचारको मार्गमा डोहोर्याउने तथा आम जनसरोकारका विषय–महँगी नियन्त्रण, गुणस्तरीय शिक्षा र सर्वसुलभ स्वास्थ्य सेवा जस्ता विषयमा परिणाममुखी र संरचनात्मक सुधारका लागि प्रभावकारी भूमिका निर्वाह गर्नेछु,’ उनले तेस्रो संकल्पमा उल्लेख गरेका छन्।
देशको दीर्घकालीन हित, राजनीतिक स्थिरता र आर्थिक समृद्धि साथै अन्तर्राष्ट्रिय सम्बन्धको सन्तुलित विकासका लागि सबै राजनीतिक दलबीच न्यूनतम साझा सहमति निर्माण गर्न जिम्मेवार र समन्वयकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।






