
कीर्तिपुरमा पेटमा घाउ भएका पोथी ल्याब्रोडर जातको कुकुर घाइते अवस्थामा फेला परेको थियो। स्थानीय बालबालिकाले घाइते कुकुरलाई आक्रमणबाट बचाउँदै विस्कुट र पानी खुवाएर पहरा दिए। चैत ११ गते कीर्तिपुरमा एउटा कुकुर फेला पर्यो। पोथी कुकुर ल्याब्रोडर जातको थियो। यस्तो उन्नत नश्लको कुकुर प्रायः ब्रिडिङका लागि प्रयोग गरिन्छ, महंगोमा बच्चा बिक्री गर्नका लागि। तर यो कुकुर घाइते अवस्थाका थिए। उनको पेटमा हेर्नै नसकिने घाउ थियो। त्यहाँ प्वालै प्वाल थियो र पिप बगिरहेको थियो। हिँडडुल समेत गर्न नसक्ने सो कुकुरलाई त्यहाँ कसैले ल्याएर छाडिएको रहेछ। घाइते एवं अशक्त कुकुरलाई त्यहाँ अरू कुकुरले झम्टिन र टोक्न खोजिरहेका थिए।
स्थानीय जनवारप्रेमी ज्ञानी पुनले सो कुकुरलाई तुरुन्त उद्धार चाहिने भन्दै फेसबुकमा पोस्ट गरिन्। पशु कल्याणको पैरवी गर्ने अधिकांश फेसबुक ग्रुपमा उनले कुकुरको अवस्था दयनीय भएको भन्दै गुहार मागिन्। तर, कतैबाट अपेक्षित सहयोग मिलेन। उनले एक रातभर कुकुरलाई रुँघेर सहयोगको याचना गरेको र सहयोग नमिलेको भन्दै दुखेसो व्यक्त गरेकी थिइन्। कुकुरको अवस्था यति नाजुक थियो कि रातभरि बाँच्ला कि नबाँच्ला भन्ने चिन्ता थियो। तर, अर्को दिन सो कुकुरलाई स–सना बालबालिकाले पहरा दिए। साथै उनीहरूले विस्कुट र पानी किनेर खुवाउँदै राखे। बालबालिकाले घाइते कुकुरलाई अन्य कुकुरको आक्रमणबाट बचाउँदै त्यसबेलासम्म पर्खिरहे, जबसम्म उसको उद्धार भएन।
अन्ततः लामो प्रयासपछि उद्धार टोली आएर कुकुरको उपचार सुरु गरे। कुकुरको उपचार हुने भएपछि पुनले फेसबुकमा लेखेकी छिन्, ‘साना बालबालिकाहरूले घाइते कुकुरको छेउमा उभिएर उसको रक्षा गरे। उनीहरू न डराए, न पछि हटे। अन्य कुकुरहरूबाट आक्रमण हुन नदिन उनीहरूले पहरा दिए। उनीहरूका लागि त्यो कुकुर कुनै ‘समस्या’ वा ‘रोगी जनावर’ थिएन। त्यो एउटा पीडामा रहेको जीवन थियो, जसलाई सहयोग चाहिएको थियो।’
उनका अनुसार ती बालबालिकाहरूमा कुनै स्वार्थ थिएन, केवल शुद्ध दया र करुणा थियो। उनीहरूले देखाएको साहस र मानवताले जोकोहीलाई भावुक बनाउँछ। बिहानपख ‘टिम रेस्क्यू’ टोली घटनास्थलमा पुगेर उक्त कुकुरको सफल उद्धार गर्यो। अहिले कुकुर सुरक्षित हातमा छ र उपचार भइरहेको छ। ‘यदि हामी सबैले बालबालिकाको जस्तो हृदय राख्न सकेको भए, संसार धेरै सुन्दर हुने थियो’ ज्ञानी पुनले कृतज्ञता व्यक्त गर्दै लेखेकी छिन्। हाल, उक्त कुकुरका लागि दीर्घकालीन आश्रय र माया गर्ने घरको खोजी भइरहेको छ। उनले अपिल गरेकी छिन्, ‘यदि सम्भव छ भने, यस निर्दोष जीवनलाई नयाँ आश्रय दिन सहयोग गरिदिनुहोस्।’ अक्सर कुनै पनि राम्रो नश्लको कुकुर घाइते, रोगी वा बूढो भएपछि सडकमा छडिएको पाइन्छ। यस्तो कृत्य खासगरी ब्रिडिङ सेन्टरबाट हुने पशुअधिकारकर्मीहरू बताउँछन्।






