Skip to main content

ट्रम्पले विवादास्पद ‘जिसस’ चित्र हटाए

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफूलाई ‘जिसस’को रूपमा देखाइएको विवादास्पद तस्वीर सामाजिक सञ्जालबाट हटाएका छन्। धार्मिक नेताहरूले यसलाई ‘ईश्वरको अपमान’ भन्दै कडा विरोध गरेपछि ट्रम्पले सोमबार उक्त तस्वीर हटाएको बताएका छन्। यस घटनाले पहिलो अमेरिकी मूलका पोप लियो १४ औँसँग ट्रम्पको बढ्दो टकरावलाई थप तीव्र बनाएको छ।

आइतबार ट्रम्पले आफ्नो ‘ट्रुथ सोसल’ प्लेटफर्ममा एआईद्वारा बनाइएको तस्वीर पोस्ट गरेका थिए। तस्वीरमा उनलाई सेतो पोशाकमा एक दैवी शक्तिको रूपमा देखाइएको थियो। एउटा हातमा चम्किलो गोला थियो भने अर्को हातले बिरामीलाई निको पारिरहेको चित्रण थियो। तस्वीरको पृष्ठभूमिमा स्ट्याच्यू अफ लिबर्टी, लडाकू विमान र अमेरिकी झण्डाका प्रतीकहरू थिए।

सोमबार ह्वाइट हाउसमा पत्रकारहरूसँगको कुराकानीमा ट्रम्पले आफूलाई जससको रूपमा नभई ‘डाक्टर’को रूपमा देखाउन खोजेको दाबी गरे। उनले भने, ‘यसले मलाई मानिसहरूलाई निको पार्ने डाक्टरको रूपमा देखाउन खोजेको हो, र म मानिसहरूलाई साँच्चै राम्रो बनाउँछु।’

कला इतिहासबिज्ञहरूको अनुसार त्यो तस्वीर इसाई धर्मको कलाकृतिहरूसँग मिल्दोजुल्दो थियो। रिपब्लिकन पार्टीका कतिपय समर्थकहरूले पनि यसको आलोचना गरेका छन्। रिपब्लिकन राष्ट्रिय कमिटीका युवा सल्लाहकार ब्रिलिन होलीह्यान्डले यसलाई घोर ईश-निन्दा भनेका छन्। ट्रम्प समर्थक राइली गेन्सले परमेश्वरको मजाक गर्नु नहुने भन्दै ट्रम्पमा थोरै नम्रता आवश्यक रहेको बताएका छन्।