
राष्ट्रिय आर्थिक गणना २०८२ को स्थलगत तथ्यांक संकलन २ वैशाख २०८३ देखि ७ असार २०८३ सम्म ७७ जिल्लामा सञ्चालन भइरहेको छ। गणनाले उद्योग, व्यापार, सेवा क्षेत्र, निजी व्यवसाय, सहकारी तथा सार्वजनिक संस्थानहरूको संख्या, रोजगारी, उत्पादन र सेवा प्रवाह सम्बन्धी तथ्यांक संकलन गर्दछ। स्थलगत तथ्यांक संकलनका लागि ४ हजार ४ सय ३३ तालिमप्राप्त गणक तथा सुपरिवेक्षक खटिएका छन् र अनलाइनबाट विवरण भर्न सकिने व्यवस्था गरिएको छ। २ वैशाख, काठमाडौं। ‘राष्ट्रिय आर्थिक गणना २०८२’ को स्थलगत तथ्यांक संकलन सुरु भइसकेको छ। राष्ट्रिय तथ्यांक कार्यालयका प्रवक्ता तथा उपप्रमुख तथ्यांक अधिकारी ढुँढीराज लामिछानेका अनुसार ‘अर्थतन्त्र मापनका लागि आर्थिक गणना’ भन्ने मूल नारासहित देशको समग्र आर्थिक अवस्थाको तथ्यांकीय चित्र प्राप्त गर्न राष्ट्रिय आर्थिक गणना आयोजना गरिएको हो। स्थलगत गणना २ वैशाख २०८३ देखि ७ असार २०८३ सम्म संचालन हुनेछ। यो दोस्रो राष्ट्रिय आर्थिक गणना हो। सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम र बजेटमार्फत यो कार्यक्रम समावेश गरेको थियो। यस अवधिमा कार्यालयले दुई दर्जनभन्दा बढी संघसंस्थासँग समन्वय गरी आर्थिक गणना सहज बनाउन आग्रह पनि गरेको थियो।
कार्यालयले आर्थिक गणना प्रयोजनका लागि १ चैत २०८२ देखि ३० असार २०८३ सम्म रहने गरी जिल्ला तहमा कार्यालय स्थापना गरी सञ्चालनमा ल्याएको छ। आर्थिक गणनाबाट प्राप्त तथ्यांकलाई आव २०८३/८४ देखि प्रशोधन र विश्लेषण गरी नतिजा सार्वजनिक गर्ने तयारीमा कार्यालय छ। कार्यालयका अनुसार राष्ट्रिय आर्थिक गणनाबाट उद्योग, व्यापार, सेवा क्षेत्र, निजी व्यवसाय, सहकारी तथा सार्वजनिक संस्थानहरूको संख्या, भौगोलिक वितरण, रोजगारी, उत्पादन र सेवा प्रवाहसम्बन्धी तथ्यांक संकलन हुँदैछ। राष्ट्रिय तथ्यांक कार्यालयले देशको आर्थिक संरचना बुझ्न, रोजगारीको अवस्थाबारे जानकारी पाउन र भविष्यका आर्थिक योजनाहरू बनाउन आर्थिक गणना आवश्यक भएको उल्लेख गरेको छ। यो गणनाले देशभरिका सबै उद्योग, व्यापार, सेवा क्षेत्र र साना–ठूला व्यवसायहरूको तथ्यांक सङ्कलन गर्नेछ।






