Skip to main content

भुवन र निरज सूर्य नेपाल एनपीजीए म्याच प्लेको क्वाटरफाइनलमा प्रवेश

सूर्य नेपाल गल्फ टुर २०२५-२६ अन्तर्गत सातौं प्रतियोगिताको पहिलो चरण सम्पन्न भएको छ। भुवन नगरकोटी, निरज तामाङ, रामे मगर लगायत आठ खेलाडी क्वाटरफाइनलमा प्रवेश गरेका छन्। प्रतियोगिताको कुल पुरस्कार राशि ४ लाख २५ हजार रहेको छ र विजेताले १ लाख प्राप्त गर्नेछन्। २ वैशाख, काठमाडौं।

सूर्य नेपाल एनपीजीए म्याच प्लेको पहिलो चरणको खेल रोयल नेपाल गल्फ क्लबमा सम्पन्न भएको छ। लगातार तीन प्रतियोगिता जितेका भुवन नगरकोटीले दोस्रो सिडेडको रूपमा सबैभन्दा सहज जित निकाले। उनले पन्ध्रौँ सिडेड कृष्णमान राजबाहकलाई ७/६ ले हराए। १२औं होलमा जित हात पारेका भुवनले क्वाटरफाइनलमा टंक बहादुर कार्कीलाई प्रतिद्वन्द्वीको रूपमा भेट्टाएका छन्।

दशौं सिडेड टंकले सातौँ सिडेड धनलाई २/० ले हराए। नेपालका नम्बर एक गल्फर निरजले सोर्हौँ सिडेड सूर्य प्रसाद शर्मालाई ३/२ ले हराउँदै अन्तिम आठमा स्थान सुरक्षित गरे। १६औं होलमा जित निकालेका निरजले क्वाटरफाइनलमा अनुभवी गल्फर रामे मगरसँग खेल्नेछन्।

तीन दिने प्रतियोगितामा सूर्य नेपाल गल्फ टुर २०२४-२५ को अर्डर अफ मेरिटका शीर्ष १६ मा रहेका खेलाडीहरूले प्रतिस्पर्धा गरेका छन्। प्रतियोगिताको कुल पुरस्कार राशि ४ लाख २५ हजार रहेको छ। विजेताले १ लाख प्राप्त गर्नेछन्।