Skip to main content

नेपालमा हवाई भाडा ५० प्रतिशतले बढ्नको कारण र यसका निर्धारणका तरिकाहरू

मध्यपूर्वको सङ्कटका कारण इन्धनको मूल्यवृद्धि भएकोले नेपालमा आन्तरिक र अन्तर्राष्ट्रिय हवाई यात्रा गर्ने यात्रुको सङ्ख्यामा उल्लेख्य कमी आएको छ। नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार, आन्तरिक हवाई यात्रा गर्ने यात्रुको सङ्ख्या दैनिक १२,००० बाट घटेर आठ हजारमा सीमित भएको छ। “त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको र समग्र तथ्याङ्क हेर्दा यात्रुहरूको सङ्ख्या ३० देखि ३५ प्रतिशतले घटेको छ,” उनले भने। यसै कारण उडानको सङ्ख्या पनि ३० प्रतिशतले घटेको छ र वायुसेवा प्रदायकहरूले आफ्ना उडानहरू गाभेर सञ्चालन गर्न थालेका छन्।

एप्रिल १ देखि ९ तारिखसम्मका नौ दिनमा आन्तरिक उडानमार्फत् ७२,००० जनाले यात्रा गरेका छन्। काठमाण्डूबाट पोखराका लागि दैनिक १४ उडान गर्दै आएको बुद्ध एअरले अहिले १० वटा उडान मात्र गरिरहेको छ। यति एअरले पनि उडानको सङ्ख्या घटाएको छ। प्राधिकरणका अनुसार, अन्तर्राष्ट्रिय उडानमा पनि समस्या देखिएको छ, विशेष गरी मध्यपूर्वका गन्तव्यमा। “अन्तर्राष्ट्रियमा दुई तीन महिनाअघि नै टिकट काटिसक्ने भएको हुँदा तत्काल समस्या देखिएको छैन,” भुलले भने।

नेपालका निजी वायुसेवा सञ्चालकहरूले इन्धन र डलरको मूल्य बढ्दा आन्तरिक उडान ३० प्रतिशतसम्म कटौती गर्नुपरेको बताएका छन्। बुद्ध एअरका बजार निर्देशक रूपेश जोशीले भने, “हामीलाई दुईवटा कुरामा मार परेको छ। एउटा तेलको मूल्यको पनि मार परेको छ। अर्को पार्टपुर्जा, मर्मतदेखि सबै कुरा डलरमा हुने भएकाले डलरको मूल्य बढेका कारण पनि असर गरेको छ।”

प्राधिकरणका अनुसार, हवाई भाडा चार पक्षका आधारमा तय गरिएको हुन्छ। तीमध्ये एउटा वायुसेवा कम्पनीको लागत दर हो, जुन २०७३ सालमा पुनरवलोकन भएको थियो। दोस्रो इन्धनको मूल्य, तेस्रो विमानस्थललाई तिर्ने कर, र चौथो सरकारी राजस्व हो। हवाई भाडामा ३५ देखि ४० प्रतिशत हिस्सा इन्धनको मूल्यको हुने गरेको छ। एप्रिल महिनादेखि हवाई इन्धनको मूल्य रु १२७ प्रतिलिटरबाट बढेर २५७ रुपैयाँ पुगेको छ, जसका कारण हवाई भाडा ५० प्रतिशतले बढेको छ।