Skip to main content

प्रधानमन्त्री बालेन्द्र शाह टाइम म्यागजिनको विश्वका १०० प्रभावशाली व्यक्तिहरूको सूचिमा

नेपालका प्रधानमन्त्री बालेन्द्र शाहलाई सन् २०२६ को टाइम म्यागजिनको १०० प्रभावशाली व्यक्तिहरूको सूचिमा समावेश गरिएको छ। शाहले फागुन २१ मा भएको चुनावमा विजयी हुँदै प्रधानमन्त्री बन्न सफल भएका थिए। टाइमले शाहको उदयलाई युवाहरूको राजनीतिक परिवर्तनको लहरको रूपमा चित्रण गरेको छ। २ वैशाख, काठमाडौं।

उक्त सूचिमा अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पदेखि चीनका राष्ट्रपति सी चिनफिङसम्म रहेका छन्। विश्वका २५ जना नेताहरू यस सूचिमा छन्। ३५ वर्षका शाह फागुन २१ मा सम्पन्न चुनावमा विजयी भई नेपालको प्रधानमन्त्री बन्न सफल भएका थिए। उनका ऐतिहासिक जीत विशेष गरी युवापुस्ताको व्यापक समर्थन र विगत वर्षको जनआन्दोलनको प्रभावको कारण सम्भव भएको टाइमले विश्लेषण गरेको छ।

टाइमका सम्पादक-एट-लार्ज चार्ली क्याम्पबेलले लेखेको प्रोफाइलमा शाहको उदयलाई युवाहरूको राजनीतिक परिवर्तनको लहरको रूपमा प्रस्तुत गरिएको छ। परम्परागत र वंशवादी राजनीतिप्रति असन्तुष्ट जनताले उनलाई राष्ट्रिय नेतृत्वमा पुर्‍याएको लेखिएको छ। राजनीतिमा आउने अघि हिप-हप कलाकारका रूपमा परिचित शाहले काठमाडौं महानगरपालिकाको मेयरको रूपमा फोहोर व्यवस्थापन, शिक्षा र स्वास्थ्य क्षेत्रमा उल्लेखनीय सुधार गरेका थिए।

टाइमले उनको सोही कार्यशैलीलाई राष्ट्रिय स्तरमा लोकप्रिय हुने कारणको रूपमा उल्लेख गरेको छ। शाह आफ्नो कठोर र स्पष्ट अभिव्यक्तिका लागि पनि चर्चित छन्। उनी भ्रष्टाचारविरुद्ध खुलेर आवाज उठाउँदै आएका छन्। संगीत पृष्ठभूमिका कारण पनि शाह युवामाझ विशेष प्रभावशाली मानिन्छन्। तर, स्थानीय तहमा पु¥याएको सफलता राष्ट्रिय स्तरमा पुनः स्थापित गर्न सक्ने वा नसक्ने भन्ने प्रश्न अझै बाँकी रहेको छ। आर्थिक असमानता, गरिबी र संस्थागत भ्रष्टाचारजस्ता चुनौतीहरूबीच शाहको नेतृत्व कति प्रभावकारी हुनेछ भन्ने कुरा सबैको ध्यान केन्द्रित भएको उल्लेख छ।