Skip to main content

सुन तस्करीको उजुरी दिने कर्मचारीमाथि भ्रष्टाचार मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका तीन कर्मचारीहरूलाई सुन तस्करीमा संलग्न भएको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। भन्सार कार्यालयमा जफत गरिएको विद्युतीय चुरोट (भेप) भित्र सुन लुकाएर तस्करी गरिएको घटना दुई वर्षपछि सार्वजनिक भएको हो। जिल्ला अदालतले सुन चोरीमा संलग्न कर्मचारीहरूलाई आपराधिक विश्वासघात गरेको ठहर गर्दै कैद र जरिवाना फैसला गरेको छ। २ वैशाख, काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रमुख अरुण पोखरेल, प्रमुख भन्सार अधिकृतहरू मुक्तिप्रसाद श्रेष्ठ र अम्बिकाप्रसाद खनाल। यी तीन कर्मचारीले माथिल्लो तहमा खबर नगरेको भए विद्युतीय चुरोट (भेप) भित्र राखेर भइरहेको सुन तस्करीको घटना सतहमा नै आउने थिएन। घटनाको करिब साढे दुई वर्षपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तस्करीको लिखित सूचना र प्रतिवेदन दिने ती कर्मचारीहरूलाई नै तस्करीमा संलग्न भएको आरोप सहित भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अख्तियारको निर्णय कतिसम्म विरोधाभाषयुक्त छ भने, भ्रष्टाचार मुद्दा लागेका तिनै कर्मचारीहरू जिल्ला अदालतमा सुन तस्करीको सूचना र प्रतिवेदन दिने साक्षीको हैसियतले बकपत्र दिन गइरहेका छन्। ठूला र हाइप्रोफाइल व्यक्ति जोडिएका भ्रष्टाचारमुद्दा दायर गर्ने दबाबमा परेको अख्तियारले त्यसक्रममा तस्करी र अनियमितताको सूचना दिने कर्मचारीहरूलाई समेत मुद्दा चलाएको हो। घटनाको दुई वर्षसम्म कुनै अनुसन्धान नगरेको अख्तियारले नयाँ सरकार गठन भएलगत्तै मुद्दा दायर गरेको हो। भन्सारले जफत गरेको भेप १० पुस, २०८०। बिहान साढे ७ बजे। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयको चेकप्वाइन्ट। फ्लाई दुबईको विमानबाट नेपाल आएका चिनियाँ नागरिक ली हाङ सुङले ल्याएका दुईवटा सुटकेसजाँचका क्रममा बरामद भयो। सुटकेसभित्र थियो, ७३ वटा बट्टामा राखिएका ७३० वटा विद्युतीय चुरोट (भेप)। व्यवसायिक रुपमा मात्रै ल्याउन मिल्ने ती सामान झिटीगुण्टाको रुपमा ल्याएको भेटिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले दुईवटा सुटकेस जफत गर्‍यो।

सामान जफत गरिएको पूर्जी र कागजात तयार गरेपछि ती सुटकेस प्रमुख भन्सार अधिकृत मुक्तिप्रसाद श्रेष्ठको कार्यकक्ष छेवैमा राखियो। त्यसक्रममा भन्सारका नासु सरोज श्रेष्ठले सुटकेसमा रहेको भेपको फोटो खिचेका थिए। अन्तर्राष्ट्रिय यात्रुले ल्याउन पाउने छुटभन्दा बढी भेप ल्याएको भन्दै ती सामान जफत गरिएको थियो। अख्तियारको दाबीमा, ती सुटकेश करिब एक महिनाभन्दा बढी समय उपसचिव श्रेष्ठको कार्यकक्षमा राखेर २९ माघमा मात्रै गोदाममा पठाइएको थियो। तर, भन्सारको प्रतिवेदनमा ती सुटकेस यात्रु शाखाको काउन्टरमा रहेको भनी उल्लेख छ। सुन तस्करीबारे सूचित गरेका कर्मचारीहरूको दाबीमा, सुटकेशभित्र ल्याइएका भेपमा सुन लुकाइएको छ भन्ने शुरुमा थाहै थिएन। उनीहरूको भनाईमा, व्यवसायिक रुपमा ल्याउनुपर्ने सामान झिटिगुण्टाको सुविधामा ल्याइएको भन्ने आधारमा मात्रै जफत भएको हो।