
इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा आज रिहा भएका छन्। अमृत झा इजरायल–अमेरिका र इरानबीच युद्ध सुरु हुनुअगाडि इन्धन ल्याउन इरान पुगेका थिए। उनी दुबईको ब्ल्याक सी मरिन एलएलसी कम्पनीको जहाजमा कप्तेन थिए र तेल लिएर दुबई फर्कने क्रममा पक्राउ परेका थिए। २ वैशाख, काठमाडौं।
इरानले आज (बुधबार) अमृत झालाई रिहा गरेको हो। परराष्ट्रमन्त्री शिशिर खनालले उनलाई रिहा भएको जानकारी गराए। ‘उहाँ रिहा हुनुभएको छ। इरानस्थित कन्सुलरसँग हाम्रो कुराकानी भयो,’ खनालले भने। उनी रिहा भएको बारे परिवारका सदस्यहरूलाई पनि सरकारी अधिकारीहरूले जानकारी गराएका छन्।
उनका भिनाजु राजेश झाले आफूलाई केहीबेर अघि सरकारी अधिकारीबाट अमृत रिहा भएको जानकारी प्राप्त भएको बताएका छन्। अमृत इजरायल–अमेरिका र इरानबीच युद्ध सुरु हुनुअगाडि इन्धन ल्याउन इरान पुगेका थिए। दुबईको एक पानी जहाज कम्पनीमा कप्तेनको रूपमा काम गर्दै आएका उनलाई तेल लिएर दुबई फर्कने क्रममा नियन्त्रणमा लिइएको थियो। अमृत दुई वर्षअघि वैदेशिक रोजगारीका लागि दुबई गएका थिए। त्यहाँ उनी ‘ब्ल्याक सी मरिन एलएलसी कम्पनी’को जहाजमा कप्तेन थिए। उनीसँगै केही भारतीय नागरिक पनि पक्राउ परेका थिए।






