टर्कीको विद्यालयमा १४ वर्षे विद्यार्थीले गोली चलाउँदा ९ को मृत्यु

३ वैशाख, काठमाडौं । टर्कीस्थित एक विद्यालयमा गोली चल्दा ९ जनाको ज्यान गएको छ। दक्षिण टर्कीको कहरामनमारास क्षेत्रमा अवस्थित आयसर क्यालिक सेकेन्डरी स्कुलमा भएको घटनामा आठ विद्यार्थी र एक शिक्षक मारिएका हुन्। गृहमन्त्री मुस्तफा सिफ्सीले घटनाको पुष्टि गर्नुभएको छ। गोलीबारीमा थप १३ जना घाइते भएका छन् जसमध्ये ६ जनाको अवस्था गम्भीर रहेको छ। आक्रमणकारी १४ वर्षे छात्र पनि घटनास्थलमै मारिएको छ। बुधबारको यो गोलीबारीका कारण खुल्न सकेका छैनन्।
स्थानीय सञ्चारमाध्यमका अनुसार, आक्रमणकारी छात्रले दुईवटा कक्षाकोठामा प्रवेश गरी अन्धाधुन्ध गोली चलाएको थियो। उक्त छात्रसँग पाँच थान बन्दुक र सात म्यागेजिन रहेको बताइएको छ। आक्रमणकारीका पिता सेवानिवृत्त प्रहरी अधिकारी हुन्।
यसअघि मंगलबार, टर्कीको दक्षिणी क्षेत्रको अर्को हाईस्कुलमा एक पूर्व छात्रले गोली चलाएको थियो। त्यस घटनामा १६ जना घाइते भएका थिए र त्यसपछि आक्रमणकारीले आफैंलाई गोली हानेको बताएका छन्।






