Skip to main content

खेलकुद र सांगीतिक कार्यक्रममार्फत चाङलुङ गुफाको पर्यटन प्रवर्द्धनमा जोड

३ वैशाख, तेह्रथुम। पछिल्लो समय ग्रामीण क्षेत्रका ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्व बोकेका स्थलहरूलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने प्रयास तीव्र बन्दै गएको छ। त्यस्तै, तेह्रथुमको छथर गाउँपालिका-६, सुदापस्थित चाङलुङ गुफा पनि विभिन्न कार्यक्रममार्फत आन्तरिक पर्यटन प्रवर्द्धनको केन्द्र बन्न पुगेको छ। स्थानीय प्रदेश सरकारको लगानीमा भौतिक संरचनाहरू निर्माण गरिंदै, यो स्थान पर्यटकीय गन्तव्यको रूपमा विकास हुँदैछ।

विगत वर्षहरूदेखि नयाँ वर्षको अवसर पारी यहाँ निरन्तर रूपमा आयोजना हुँदै आएका कार्यक्रमहरूको परम्परालाई यस वर्ष पनि निरन्तरता दिँदै “स्वर्गीय गोद्रिलाल स्मृति कप भलिबल प्रतियोगिता तथा बृहत् सांगीतिक कार्यक्रम २०८३” सम्पन्न भएको छ। तीन दिनसम्म चल्ने यो महोत्सवले मनोरञ्जन मात्र नभई चाङलुङ गुफाको पहिचान फैलाउन महत्त्वपूर्ण भूमिका खेलेको छ। टाढाटाढाबाट आएका दर्शक, खेलाडी र पर्यटकहरूको उल्लेख्य उपस्थितिले यस क्षेत्रको पर्यटन सम्भावनामा थप प्रकाश पार्दैछ।

कार्यक्रममा धामी–झाँक्री नाच, केलाङ च्याब्रुङ नाच र धान नाचजस्ता मौलिक सांस्कृतिक झलकहरूले लिम्बू समुदायको जीवनशैली र परम्परागत पहिचानलाई जीवंत रूपमा प्रस्तुत गरेका थिए। यहाँका सांस्कृतिक र ऐतिहासिक स्थलहरूको प्रवर्द्धनमा भएको खर्चले मौलिक संस्कृति संरक्षणमा योगदान पुग्नेछ भनी छथर गाउँपालिका अध्यक्ष सन्तोष तिगेलाले जानकारी दिनुभयो।

सांगीतिक कार्यक्रममा गायक इन्द्र सुशील चोङबाङ र गायिका निरन्ता नेम्बाङसहित स्थानीय कलाकारहरूको प्रस्तुति प्रमुख आकर्षण बनेको थियो भने ‘टाट्नो गीत यात्रा’ को प्रस्तुति पनि समावेश गरिएको थियो। त्यस्तै, नृत्य प्रतियोगिताले स्थानीय कला र सिर्जनशीलतालाई मञ्च प्रदान गर्दै सांस्कृतिक विविधताको सुन्दर झलक प्रस्तुत गरेको देखियो। मौलिक भेषभूषा सहित मंचित नृत्यहरूले दर्शकमा सांस्कृतिक अनुभूति जगाएका थिए। चाङलुङ गुफा मेलाबजार व्यवस्थापन समितिका अध्यक्ष सन्तकुविर आंखेवाका अनुसार, पर्यटन प्रवर्द्धनका लागि खेलकुद, सांस्कृतिक तथा सांगीतिक कार्यक्रमहरू निरन्तर आयोजना गरिँदै आएको छ। पहुँच विस्तार, पूर्वाधार विकास र दीर्घकालीन योजना कार्यान्वयन हुन सकेमा यो क्षेत्र पूर्वी नेपालको महत्वपूर्ण पर्यटकीय गन्तव्य बन्न सक्ने सम्भावना प्रकट हुन्छ।