Skip to main content

आर्सनल लगातार दोस्रो पटक च्याम्पियन्स लिग सेमिफाइनलमा प्रवेश

इङ्ल्यान्डको फुटबल क्लब आर्सनलले लगातार दोस्रो वर्ष युरोपियन च्याम्पियन्स लिगको सेमिफाइनलमा स्थान बनाउन सफल भएको छ। आर्सनलले दोस्रो लेगमा स्पोर्टिङ सीपीसँग गोलरहित बराबरी खेले तापनि समग्रमा १–० को परिणामसहित अन्तिम चारमा प्रवेश गरेको हो। अब उनीहरूले स्पेनको एट्लेटिको मड्रिडसँग प्रतिस्पर्धा गर्दै फाइनल यात्रा अगाडि बढाउनेछन्।

३ वैशाख, काठमाडौं। स्पोर्टिङ सीपीसँगको दोस्रो लेग खेल गोलरहित बराबरीमा सकिए पनि आर्सनलले कुल स्कोर १–० को जितसहित सेमिफाइनलमा स्थान बनाएको छ। पहिलो लेगमा काइ हाभेर्ट्जले गरेको निर्णायक गोल नै निर्णायक सावित भयो। एमिरेट्स स्टेडियममा भएको खेलमा आर्सनलले राम्रो शुरुवात गर्यो, यद्यपि पहिलो हाफमा स्पष्ट अवसरहरू अधिकांश स्पोर्टिङले बनायो।

फ्रान्सिस्को ट्रिन्काओ, पेड्रो गोन्काल्भ्स र गेनी कातामोले गोलका अवसरहरु सिर्जना गरेका थिए। कातामोको प्रहार पोष्टमा ठोक्किँदै फर्किएको थियो। दोस्रो हाफमा पनि स्पोर्टिङले दबाब कायम राख्यो। म्याक्सी आराउजोको नजिकबाट प्रहार बाहिर गएको थियो भने आर्सनलका लियान्द्रो ट्रोसार्डको हेडर पोष्टमा लागेको थियो।

खेल गोलरहित बराबरीमा समाप्त भएपछि पहिलो लेगमा आर्सनलको अग्रता नै सेमिफाइनलको यात्रा सुनिश्चित बन्यो। यो आर्सनलको इतिहासमा लगातार दुई वर्ष च्याम्पियन्स लिग सेमिफाइनलमा पुग्ने पहिलो अवसर हो। अब उनीहरूले फाइनल प्रवेशका लागि स्पेनको एट्लेटिको मड्रिडसँग भिड्नेछन्। गत सिजन आर्सनल सेमिफाइनलमा गएर पिएसजीसँग पराजित भई बाहिरिएको थियो।