विपक्षी दलहरूले संसदीय समितिका सभापतिको उम्मेदवारबारे छलफल शुरू गरे

३ वैशाख, काठमाडौं । विपक्षी दलहरू संसदीय समितिका सभापतिको उम्मेदवारबारे छलफलमा सक्रिय भएका छन्। नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टीले सबै समिति सभापतिमा उम्मेदवारी दिने विषयमा छलफल गरिरहेका छन्। ‘उम्मेदवारी दिऔं। जीत वा हार स्वाभाविक कुरा हो’ संयुक्त छलफलमा रहेका एक नेताले बताएका छन्। आज संसदीय समितिको सभापतिमा मनोनयन दर्ता हुँदैछ। संघीय संसद सचिवालयका अनुसार आज दिउँसो १ बजे देखि साँझ ४ बजेसम्म मनोनयन दर्ता गरिनेछ। मनोनयन दर्ता सिंहदरबारस्थित प्रतिनिधि सभाको सचिवालयमा हुनेछ। आजै दिउँसो साढे ४ बजे उम्मेदवारहरूको सूची सार्वजनिक गरिनेछ।
संघीय संसदमा १६ वटा संसदीय समिति छन्। प्रतिनिधि सभामा १० वटा र राष्ट्रिय सभामा ४ वटा समिति रहेका छन्। साथै दुई वटा संयुक्त समिति पनि छन्। राष्ट्रिय सभाका विषयगत समितिका सभापतिहरूको निर्वाचन पहिल्यै सम्पन्न भइसकेको छ। प्रतिनिधि सभाका १० वटा र संयुक्त दुईवटा समितिका सभापतिहरूको निर्वाचन हुन बाँकी छ। गत चैत २७ गते प्रतिनिधि सभाले विषयगत समितिमा रहने सदस्यहरूको निर्णय गरेको थियो। सोही दिन सभामुख डोलप्रसाद अर्यालले आगामी शुक्रबार संसदीय समितिका सभापतिको निर्वाचन मिति सार्वजनिक गरेका थिए।
सम्बन्धित समितिका कुनै सदस्यलाई सभापतिमा निर्वाचित गराउन सोही समितिका एक सदस्य प्रस्तावक भएर, अर्को सदस्यको समर्थनमा सभापतिका लागि दाबी पेश गर्न सक्छन्। यस विषयमा नेपाली कांग्रेसका मोहन आचार्य र भिष्मराज आङदाम्बेले अन्य विपक्षी दलहरूसँग संवाद गरिरहेका छन्। नेपाली कम्युनिस्ट पार्टीबाट वर्षमान पुन र युवराज दुलाल दलहरूसँग छलफलमा छन्। आज दिउँसो १२ बजे विपक्षी दलका नेताहरूको संयुक्त छलफल पनि हुनेछ। यसमा उम्मेदवारी दिने वा नदिने निर्णय हुने र यदि दिने हो भने कुन समितिमा कसलाई उम्मेदवार बनाउने निर्धारण गरिनेछ।






