
अदुवा, पुदिना, टिमुर र मनतातो पानीलाई पेटको ग्यास कम गर्न घरेलु उपायको रूपमा प्रयोग गर्न सकिन्छ। ग्यासको समस्या बारम्बार दोहोरिएमा चिकित्सकसँग परामर्श गर्न सुझाव दिइन्छ। भागदौडपूर्ण जीवनशैली, अनियमित खानपान, अत्यधिक चिल्लो–मसालेदार परिकार, कम पानी पिउने बानी, छिटो–छिटो खाना खाने स्वभाव र शारीरिक गतिविधि घट्दै जाँदा पेटमा ग्यास जम्ने समस्या धेरैमा सामान्य हुँदै गएको छ। धेरै समय खाली पेट बस्ने, राति ढिलो खाने, खाना राम्ररी नचपाई निल्ने वा तनावमा बस्ने बानीले पनि आन्द्राभित्र वायु फस्टाउन सक्छ। यसका कारण पेट फुल्ने, डकार आउने, पेट कडा हुने, गडबडी हुने, पेट दुख्ने र कहिलेकाहीँ छातीसम्म असहज महसुस हुने समस्या देखिन्छ। अधिकांश अवस्थामा यस्तो समस्या खानपान र पाचन प्रक्रियासँग सम्बन्धित हुन्छ। खाना राम्ररी नपच्दा आन्द्रामा अम्लीयता बढ्छ, जसले ग्यास बनाउँछ। कब्जियत, दाल–चना, बन्दागोभी, कोल्ड ड्रिंक, धेरै चिया–कफी, दूधजन्य परिकार वा धेरै समय बस्ने बानीले पनि समस्या झन् बढाउन सक्छ। औषधि लिनुअघि घरमै उपलब्ध केही प्राकृतिक खानेकुरा जस्तै अदुवा, पुदिना, सौंफ वा टिमुर जस्ता मसला र मनतातो पानी मात्रा मिलाएर सेवन गर्दा हल्का ग्यासमा राम्रो आराम भेट्न सक्छ।
१. पाचनलाई सक्रिय बनाउने अदुवा: अदुवा पेटको ग्यास कम गर्न सबैभन्दा छिटो काम गर्ने घरेलु उपायमध्ये एक हो। यसमा रहेका सक्रिय तत्वहरूले पाचन रस र एन्जाइमहरूको क्रियाशीलता बढाउँछ। यसले खाना पेटमा लामो समय नअड्काई छिटो तलतिर सार्न मद्दत गर्छ, जसले आन्द्राभित्र बन्ने अतिरिक्त वायुलाई कम गर्छ। ग्यासका कारण पेट फुल्ने, वाकवाकी वा भारीपन महसुस हुँदा अदुवा विशेष उपयोगी हुन्छ। यसको लागि ताजा अदुवाको सानो टुक्रा कुटेर एक कप पानीमा ५–१० मिनेट उमाल्नुभएको मनतातो भएपछि बिस्तारै पिउनुहोस्। खाना खाएपछि वा पेट फुलेको बेला यसलाई सेवन गर्दा धेरैलाई आराम मिल्छ। केही चिकित्सकीय स्रोतहरूले अदुवाले पेटको मांसपेशीलाई शान्त पारेर ग्यासलाई बाहिर निस्कन सहयोग गर्ने उल्लेख गरेको छ।
२. पुदिनाले पेटको मांसपेशीलाई आराम दिन्छ: पुदिनामा पाइने मेन्थोलले पेट र आन्द्राको मांसपेशीलाई शिथिल बनाउँछ। जब आन्द्राको मांसपेशी धेरै कसिएको हुन्छ, ग्यास बाहिर निस्कन गाह्रो हुन्छ। पुदिनाले त्यो कसावट कम गरेर जमेको वायुलाई सहज रूपमा तलतिर निकाल्न मद्दत गर्छ। पेट फुल्ने, डकार रोकिए वा खाना खाएपछि भारीपन वा ऐंठनजस्तो हुने अवस्थामा पुदिना धेरै उपयोगी हुन्छ। केही ताजा पुदिनाका पातलाई तातो पानीमा ५ मिनेट भिजाएर त्यसको रस पिउन सकिन्छ। यदि पात उपलब्ध नभएमा पुदिनाको चिया पनि प्रयोग गर्न सकिन्छ। नियमित रूपमा खाना खाने पछि पुदिनाको चिया सेवन गर्दा ग्यास बन्ने प्रवृत्ति पनि कम हुन सक्छ।
३. जमेको वायु घटाउने टिमुर: नेपाली भान्सामा सजिलै पाइने टिमुर पेटको ग्यासका लागि परम्परागत रूपमा प्रयोग हुँदै आएको मसला हो। यसको तिखो र सुगन्धित गुणहरूले पाचन प्रणालीलाई सक्रिय बनाउँछ। राम्रोसँग नपचेका खाना कारण पेट र आन्द्रामा बन्ने वायु कम गर्न यसले सहायता पुर्याउँछ। टिमुरका थोरै दाना कुटेर मनतातो पानीमा हालेर पिउन सकिन्छ। यसलाई ५ मिनेट पानीमा उमालेर पनि पिउन सकिन्छ। खाना खाएपछि पेट फुलेको, डकार अड्किएको वा तलतिर वायु ननिस्किएको अवस्थामा यो उपाय उपयोगी हुन्छ।
४. मनतातो पानी र हल्का हिँडाइ: धेरैजसो अवस्थामा पेटको ग्यास एकै ठाउँमा अड्किएको हुन्छ। यस्तो अवस्थामा मनतातो पानी बिस्तारै पिउनु र १०–१५ मिनेट हल्का हिँड्नु निकै प्रभावकारी उपाय हो। मनतातो पानीले पाचन प्रणालीलाई सहज बनाउँछ, आन्द्राको गति बढाउँछ र जमेको वायु तलतिर सार्न सहयोग गर्दछ। खाना खाएपछि तुरुन्त सुत्ने बानीले ग्यास अझ बढ्न सक्छ। त्यसैले खाना खाएपछि केही समय बस्ने, बिस्तारै हिँड्ने र शरीरलाई चलायमान राख्ने बानीले प्राकृतिक रूपमा ग्यास बाहिर निस्कन सहयोग गर्दछ। धेरै ग्यासको समस्या जीवनशैलीसँग जोडिएको भएकाले यो उपाय दीर्घकालीन रूपमा पनि उपयोगी हुन्छ।
समस्या बारम्बार दोहोरिए के संकेत हुनसक्छ? यदि ग्यासको समस्या पटक–पटक हुन्छ, पेट अत्यधिक फुल्छ, कब्जियत, पखाला, एसिडिटी, पेट दुखाइ वा तौल घट्ने समस्या पनि सँगै देखिन्छ भने यो सामान्य ग्यास मात्र नहुन सक्छ। यस्तो अवस्थामा आन्द्राको संवेदनशीलता, ल्याक्टोज असहिष्णुता, कब्जियत, अम्लपित्त वा अन्य पाचन समस्या हुन सक्छ। त्यसैले घरेलु उपायहरूले अस्थायी राहत दिँदा पनि समस्या दोहोरिए चिकित्सकसँग परामर्श गर्न उचित हुन्छ।






