पाकिस्तानी सेनाप्रमुख तेहरानमा, इरानी सभामुख गालिबाफसँग भेटवार्ता

३ वैशाख, काठमाडौं । पाकिस्तानका सेनाका कमाण्डर फिल्ड मार्शल असिम मुनीरले बुधबार इरानी संसदका सभामुख मोहम्मद बाघर गालिबाफसँग भेटवार्ता गरेका छन्। मध्यपूर्वको युद्ध रोक्न मध्यस्थकर्ताको भूमिकामा रहेका मुनीर बिहीबार इरान पुगेका थिए। त्यहाँ उनले इरानका तर्फबाट शान्ति वार्ताको टोलीको नेतृत्व गरेका सभामुख गालिबाफसँग भेटवार्ता गरेको इरानको सरकारी टेलिभिजनले जनाएको छ।
सरकारी टेलिभिजनका अनुसार, अमेरिका र इजरायलसँगको युद्ध समाप्त गर्न थप वार्ता गर्ने विषयमा दबाब दिने उद्देश्यले मुनीर इरान भ्रमणमा पुगेका हुन्। ‘हिजो इरान भ्रमणमा आएका पाकिस्तानी सेनाका प्रमुख मुनीरले इरानी सभामुख गालिबाफसँग भेटवार्ता र संवाद गर्नुभएको छ,’ बिहीबार बिहानको रिपोर्टलाई उद्धृत गर्दै इरानी टेलिभिजनले भनेको छ। मुनीर प्रतिनिधिमण्डलसँग तेहरानमा भएका अन्य बैठकका बारेमा थप विवरण सार्वजनिक गरिएको छैन। इरानी टेलिभिजनले शान्ति योजनाको प्रस्तावलाई अमेरिकाद्वारा पठाइएको सन्देशको रूपमा व्याख्या गरेको छ। यसअघि पाकिस्तानको राजधानी इस्लामावादमा भएको शान्ति वार्ता असफल भएको थियो। पछिल्ला केही दिनयता दुवै पक्षले फेरि वार्ता हुने सम्भावना प्रकट गरिरहेका छन्।






