
३ वैशाख, काठमाडौं । रास्वपाको चुनाव अभियानको क्रममा खाना खाँदा वरिष्ठ नेता बालेन शाह प्रायः सभापति रवि लामिछानेलाई अबेरसम्म पर्खन्थे । रवि पनि टिमले खाइसकेपछि प्रधानमन्त्रीका उम्मेदवार बालेनलाई कुरेर बस्ने गर्दथे । १२ फागुनमा इटहरीको चुनाव सभामा यस्तै भयो । कोशीटप्पूमा चराहरू हेरेर फर्कंदा बालेनलाई रवि भोकै भेटिए । रास्वपा उच्च स्रोतका अनुसार भान्छाको शिष्टाचारले निर्धारण गरेको छ रवि–बालेनको सम्बन्ध, जुन अहिलेसम्म कायम छ । संसारभरका साझा यथार्थहरू मध्ये एक हो, राजनीतिका सबै सम्बन्धहरू राजनीतिक शास्त्रभन्दा बढी मनोविज्ञानले निर्धारण गर्छन् । तेसैले रास्वपा सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहबीचको सम्बन्ध कस्तो होला ? विगतका ओली–प्रचण्ड, गिरिजा–देउवा, माधव–ओली जस्ता सम्बन्धहरूमा रुचि राख्नेहरूका लागि ताजा जनादेशले नयाँ जिज्ञासा थपेको छ । साथै विगतका सम्बन्धहरूको गतिविधि कम चासोमा परेको छ ।
गत पुस–माघका सांगीतिक साँझहरूबाट सुरु भएको रवि–बालेन सम्बन्धको आफ्नै कथा छ । रास्वपा एकता अभियान अघि नबढ्दा तत्कालीन काठमाडौं मेयर बालेन ह्वातै देशविकास पार्टी खोल्ने तयारी गर्दै थिए । जब रवि प्रधानमन्त्री उम्मेदवारको रूपमा बालेनलाई चयन गर्न तयार भए, त्यस दिनदेखि नेपालको राजनीतिक इतिहासमा नयाँ अध्याय सुरु भयो । पछिल्लो फागुनको आम चुनावमा रविले बालेनलाई अगाडि सारेर दुई तिहाई निकटको नतिजा दिलाए । सरकारले करिब तीन सातादेखि गरेका कामप्रति रवि सन्तुष्ट पनि असन्तुष्ट पनि छैनन् । उनी पार्टी सभापतिको ‘अभिभावकीय भूमिका’बाट सरकारी कामहरू हेरिरहेका छन् । बालेनले एकलौटी रूपमा हाँक्दैछन् भन्ने प्रारम्भिक बुझाइ भए तापनि रविको विचारमा त्यो उनको सर्वाधिकार नभई अग्राधिकार हो । यसको आफ्नै पृष्ठभूमि छ । उपसभामुख चयनअघि रविले राप्रपालाई उक्त पदमा बचन दिएका थिए । संसदीय पक्षमा रवि, सरकारी पक्षमा बालेन निर्णयमा अग्रसर हुने भनिएको थियो । तर बालेन पक्ष हाबी हुनसक्दा श्रम संस्कृति पार्टीकी रुबी कुमारी ठाकुर पक्षमा लबिङ गर्दा दुई नेताबीच तनाव आएको थियो । तर रविको उदारताले त्यो तुरुन्तै समाधान भयो ।






