
४ वैशाख, काठमाडौं । इरानका विदेशमन्त्री अब्बास अरागचीले अमेरिकासँग भएको युद्धविराम अवधिभर स्ट्रेट अफ होर्मुज पूर्ण रूपमा खुल्ला राख्ने घोषणा गरेका छन्। उनले एक्समार्फत युद्धविराम अवधिको बाँकी समयसम्म होर्मुज स्ट्रेटबाट आवतजावत गर्ने सबै जहाजलाई खोल्ने प्रतिबद्धता व्यक्त गरेका हुन्। ‘लेबनानमा युद्धविराम पश्चात् सबै व्यावसायिक जहाजहरूले होर्मुज स्ट्रेटबाट आवाजाही गर्न सक्नेछन् र यो मार्ग युद्धविराम अवधिका बाँकी समयमा पूर्ण रूपमा खुला रहनेछ,’ विदेशमन्त्री अरागचीले बताएका छन्। अमेरिका र इरानबीच २२ अप्रिलसम्म युद्धविराम जारी रहनेछ।
यसअघि इरानले लेबनानसहित पुरै मध्यपूर्वमा युद्धविराम लागू नभएसम्म होर्मुज स्ट्रेट खोल्ने निश्चित अडान राखेको थिएन। तर इरानी विदेशमन्त्री अरागचीले होर्मुज खोल्ने घोषणा गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई धन्यवाद व्यक्त गरेका छन्। सामाजिक सञ्जाल ट्विटरमार्फत ट्रम्पले इरानप्रति कृतज्ञता जाहेर गरेका छन्। ‘इरानले हालै होर्मुज स्ट्रेट पूर्ण रूपमा खोल्ने र आवाजाहीका लागि तयार हुने घोषणा गरेको छ, त्यसका लागि धन्यवाद,’ ट्रम्पले लेखेका छन्। तर, होर्मुजमा अमेरिकी नाकाबन्दी भने जारी रहने ट्रम्पले स्पष्ट पारेका छन्। ‘होर्मुज स्ट्रेट व्यापार र आवाजाहीका लागि खुला र तयार छ, तर नौ सैन्य नाकाबन्दी शक्ति र प्रभावसहित जारी रहनेछ,’ उनले भनेका छन्। अमेरिकी नाकाबन्दी केवल इरानलाई लक्षित रहेको कुरा उनले स्पष्ट पारेका छन्।






