Skip to main content

हल्चोकले प्रहरी प्रधान कार्यालयलाई सिंहदरबार प्रवेश गर्ने सशस्त्रका विवरण पठाउन पत्र लेख्यो

सशस्त्र प्रहरी प्रधान कार्यालय हल्चोकले प्रहरी प्रधान कार्यालय नक्साललाई सिंहदरबार प्रवेश गर्ने आफ्ना कर्मचारीहरूको विवरण उपलब्ध गराउन पत्र लेखेको छ। सशस्त्र प्रहरीका तीन कर्मचारीले आन्तरिक कार्यविधि विपरीत बाह्य व्यक्ति भेटेको र फाराम नपुगेपछि स्पष्टीकरण सोधिएको छ। तीन कर्मचारीले डीआईजी बढुवाको विषयमा सिंहदरबारमा बाह्य व्यक्तिसँग छलफल गरेको पाइएको छ। ४ वैशाख, काठमाडौं।

दैनिक रूपमा सिंहदरबार प्रवेश गर्ने आफ्ना कर्मचारीहरूको विवरण उपलब्ध गराउन सशस्त्र प्रहरी प्रधान कार्यालय हल्चोकले प्रहरी प्रधान कार्यालय नक्साललाई पत्राचार गरेको छ। शुक्रबार नक्साललाई हल्चोकले लिखित अनुरोध गर्दै सिंहदरबार प्रवेश गर्ने सशस्त्र प्रहरी कर्मचारीहरूको विवरण उपलब्ध गराउन भनेको छ। सशस्त्र प्रहरीका कर्मचारीहरूले बाह्य व्यक्ति भेट्नुपर्ने भए आन्तरिक कार्यविधि पालना गर्नुपर्ने नियम छ।

तर, केही कर्मचारीले कार्यविधि विपरीत सिंहदरबार प्रवेश गरी कर्मचारी र अन्य व्यक्तिहरूसँग भेटघाट गरेको जानकारी पाएपछि हल्चोकले कारबाही प्रक्रिया अगाडि बढाएको बताइएको छ। ‘बाह्य व्यक्तिसँग भेटघाटका लागि सशस्त्र प्रहरीले नै कार्यविधि बनाएको छ। तर, कार्यविधि विपरीत बाह्य व्यक्ति भेट हुँदा र सिंहदरबारमा कर्मचारी भेट हुँदा सूचना पाएपछि प्रहरी प्रधान कार्यालयलाई पत्र लेखिएको हो,’ सशस्त्र प्रहरी बलका एक उच्च स्रोतले भने।

‘त्यसरी सिंहदरबार प्रवेश गरी भेटघाटमा संलग्न सशस्त्र प्रहरी कर्मचारीहरूको पहिचान गरी कारबाही गर्न विवरण पठाउन भनेको हो।’ सशस्त्र प्रहरीले यदि कोही बाह्य व्यक्ति भेट्नुपर्ने भए अनिवार्य रूपमा विवरण खुलाइ भेटको उद्देश्य पनि जानकारी गराउनुपर्ने व्यवस्था गरेको छ। तीन सशस्त्र प्रहरीलाई स्पष्टीकरण सोधिएको छ, जसले कार्यविधि विपरीत सिंहदरबार प्रवेश गरी बाह्य व्यक्ति भेटेको पत्ता लागेको हो। ‘कार्यविधि विपरीत सिंहदरबार प्रवेश गर्ने तीन जनामा एसएसपी नेत्र कार्की, एसएसपी राजेश उप्रेती र एसपी हर्कराज पन्त छन्,’ स्रोतले उल्लेख गर्‍यो।