वित्तीय साक्षरता अभियन्ता प्रकाश कोइरालालाई विस्कन्सिन राज्यका राज्यपालबाट सम्मान

वित्तीय साक्षरता अभियन्ता प्रकाश कोइरालाले सन् २०२५ को गभर्नर फाइनान्सियल लिटरेसी अवार्ड प्राप्त गरेका छन्। अमेरिकाको विस्कन्सिन राज्यका राज्यपाल टोनी एभर्सले कोइरालालाई व्यक्तिगत क्षेत्रमा वित्तीय साक्षरता प्रवर्द्धनमा गरेको योगदानको कदरमा यो सम्मान दिएका हुन्। पुरस्कार प्रदान कार्यक्रममा राज्यपाल एभर्सले वित्तीय शिक्षाले व्यक्तिलाई लक्ष्य प्राप्तिमा मद्दत गर्ने र आर्थिक सुरक्षा सुनिश्चित गर्न आवश्यक साधनहरू उपलब्ध गराउने बताएका थिए।
यस वर्षको पुरस्कार वितरणमा कुल १० जना व्यक्ति र ११ वटा संस्था सम्मानित भएका छन्। कोइराला व्यक्तिगत तर्फ वित्तीय साक्षरता प्रवर्द्धनमा गरेको योगदानका लागि यो पुरस्कार विजेता भएका हुन्। क्यानडाको कामलम्स क्षेत्रमा रहँदा पनि विस्कन्सिनको आर्थिक चेतना र वित्तीय साक्षरतामा गरेको प्रभावकारी कामको कदर गर्दै राज्यपाल एभर्सले पुरस्कार प्रदान गरेका हुन्।
राज्यपाल एभर्सले पुरस्कार वितरण कार्यक्रममा भनेका छन् कि वित्तीय शिक्षाले व्यक्तिलाई आफ्नो लक्ष्य पूरा गर्न, नयाँ अवसर सिर्जना गर्न र परिवारको आर्थिक सुरक्षा सुनिश्चित गर्न आवश्यक उपकरणहरू प्रदान गर्नेछ। यस वर्षको पुरस्कार वितरण तीन वर्गीकरणमा गरिएको छ, जसमा व्यक्तिगत क्षेत्रमा प्रकाश कोइराला सहित १० जना र संस्थागत क्षेत्रमा ११ वटा सामुदायिक तथा वित्तीय संस्थालाई पुरस्कृत गरिएको छ।
विजेताहरूको छनोट ‘गभर्नर्स काउन्सिल अन फाइनान्सियल लिटरेसी एन्ड क्यापाबिलिटी’ ले गरेको हो। पछिल्लो दुई वर्षमा ल्याइएका नवप्रवर्तनात्मक वित्तीय योजनाहरू, मापनयोग्य उपलब्धिहरू, साझेदारी र कार्यक्रम प्रभावकारिताको आधारमा विजेताहरू चयन भएका थिए। विस्कन्सिनको वित्तीय संस्था विभागले यो सम्मानले राज्यभरि वित्तीय साक्षरता अभियानलाई थप प्रोत्साहन गर्ने र नागरिकलाई आर्थिक रूपमा आत्मनिर्भर बन्न प्रेरित गर्ने विश्वास व्यक्त गरेको छ।






