
पाकिस्तानका विदेशमन्त्री इशाक डारले इरान र अमेरिकाबीच भइरहेको वार्ता प्रगतिशील रहेको र केही महत्वपूर्ण मुद्दामा मात्र सहमति हुन बाकी रहेको बताएका छन्। तुर्कीको अन्तालिया डिप्लोमेसी फोरममा उनले दुवै देशबीच सम्झौतामा निकै नजिक पुगेको बताए। उनका अनुसार केही विषयमा सहमति हुन बाँकी भए तापनि प्रयास चलिरहेको छ र आशा अझै टुटेको छैन। उनले सम्झौता भएमा संसारलाई ठूलो फाइदा पुग्ने विश्वास व्यक्त गरे।
डारले दुवै पक्ष बाँकी रहेका मतभेदहरू हटाउन निरन्तर प्रयासरत रहेको बताए। उनले लेबनानमा युद्धविराम सम्पन्न भइसकेको र इरानले बिना सर्त जहाजका लागि होर्मुज स्ट्रेट पुनः खुला गरेको दाबी गरे। डारले बाँकी वार्ताहरू पनि छिट्टै सम्पन्न हुनेमा विश्वास व्यक्त गरे। साथै, दुई देशबीच वार्ताको अर्को चरण छिट्टै सुरु हुने अपेक्षा गरिएको छ। पहिलो चरणको वार्ता पाकिस्तानको इस्लामाबादमा सम्पन्न भएको थियो।






