ट्रम्पको नयाँ चेतावनी: बुधबारसम्म सम्झौता नभए इरानमा पुनः बमबारी हुनेछ

५ वैशाख, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी बुधबारसम्म कुनै ठोस सम्झौता नभए इरानमाथि फेरि बमबारी गरिने चेतावनी दिएका छन्। शनिबार पत्रकारको प्रश्नको उत्तरमा ट्रम्पले बताए कि यदि बुधबारसम्म ठूलो सम्झौता नभए उनी युद्धविराम अवधि नबढाउनेछन्। पत्रकारले सोधेका थिए, ‘के तपाईं युद्धविराम अवधि बढाउनुहुनेछ?’ जसको जवाफमा उनले भने, ‘सायद अब म यो अवधि बढाउने छैन। तर नाकाबन्दी भने जारी रहनेछ। अफसोच के छ भने हामीले पुनः बमबारी सुरु गर्नु पर्नेछ।’
तर, ट्रम्पले केही समयअघि नै सकारात्मक खबर पाएको खुलासा गरेका छन्। उनले भने, ‘मध्यपूर्वमा इरानसँग हाम्रो सम्बन्ध सुधार हुने सम्भावना बढिरहेको छ।’ अमेरिकासँग इरानबीचको युद्धविराम सहमतिको अवधि आगामी बुधबार (अप्रिल २२) मा सक्न लागेको छ। यसैबीच पाकिस्तानमा सञ्चालन गरिएको शान्ति वार्ता असफल भएको थियो। दुबै पक्षबीच पुनः वार्ता हुने सम्भावना रहेको बताइएको छ।






