Skip to main content

कोरलाना नाका जोड्ने कागबेनी–छुसाङ सडकको स्तरोन्नति कार्य तीव्र हुँदै

मुस्ताङको कागबेनी–छुसाङ खण्डमा कालिगण्डकी करिडोर अन्तर्गत सडक स्तरोन्नति कार्य तीव्र गतिमा भइरहेको छ। कोरला नाका जोड्ने उक्त सडकको स्तरोन्नति दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। सडक निर्माणमा पाँच हजार घनमिटर ग्याबिनवाल र दुई हजार घनमिटर रिटर्निङ वाल लगाइसकिएको छ। ६ वैशाख, मुस्ताङ। छिमेकी देश चीन र भारतलाई जोड्ने कालिगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनाले मुस्ताङको कागबेनी–छुसाङ खण्डमा तीव्र गतिमा कालोपत्र र स्तरोन्नति गर्दैछ। हिउँदियामको अत्यधिक चिसो, हिमपात र गत फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचनका कारण रोकिएको कोरला नाका जोड्ने कागबेनी–छुसाङ खण्डको स्तरोन्नतिलाई पुनः तीव्रता दिइएको छ।

नौ दशमलव आठ किलोमिटर लंबाइको उक्त सडक खण्डको स्तरोन्नतिलाई तीव्र बनाइएको आयोजना कार्यालयले जनाएको छ। आयोजनाबाट थासाङ–४ घाँसाबाट कोरला नाका र मुक्तिनाथ जोड्ने गरी कागबेनीसम्मको करिब ९८ प्रतिशत सडक कालोपत्र सम्पन्न गरिएको छ। नेपाल–चीनको उत्तरी कोरला नाकासम्मको सडकलाई आवश्यक स्तरोन्नतिसहित कालोपत्र गर्ने योजनाको लक्ष्य रहेको छ। सोही उद्देश्यका लागि गतवर्ष संघीय सरकारले बजेट विनियोजन गरेको थियो।

मुस्ताङको कोरला नाका जोड्ने कागबेनी–छुसाङ खण्डको कालोपत्रलगायत सडक विस्तारका लागि आयोजनाले गत वर्ष असार २६ गते टक्सार इफ्फाटा/बुद्ध जेभी कन्ट्रक्सनसँग रु २८ करोड ८७ लाख ९६ हजार लागतमा ठेक्का सम्झौता गरेको छ। उक्त सडकलाई कालोपत्रसहित थप स्तरोन्नति गरी दुई वर्षभित्र सम्पन्न गर्ने अवधि तोकिएको छ। ठेक्का सम्झौताअनुसार कागबेनी–छुसाङ सडक विसं २०८४ असार २४ गतेभित्र पूरा गरिसक्नुपर्ने समय तोकिएको आयोजनाका प्रमुख तेजस्वी शर्माले जानकारी दिए।

गत असार अन्त्यमा ठेक्का सम्झौता भएतापनि प्रतिकूल मौसम र चुनावका कारण पाँच महिना काम रोकिएको उनले बताए। आयोजना प्रमुख शर्माका अनुसार हिउँद सकिएर गर्मीयाम सुरु भएसँगै निर्माण कम्पनीले काम पुनः सुरु गरेको छ। निर्माणाधीन कागबेनी–छुसाङ खण्डमा हालसम्म २० प्रतिशत भौतिक प्रगति भइसकेको छ। करिब ११ मिटर चौडाइको आठ मिटर कालोपत्र गरिएको सडक निर्माण हुँदैछ। कोरला नाका जोड्ने उक्त सडकको बारागुङ मुक्तिक्षेत्र–३ ताङ्वे क्षेत्रमा कालोपत्र र सडक संरचनाको काम भइरहेको निर्माण कम्पनीका प्रतिनिधि सागर श्रेष्ठले बताए।

सडक स्तरोन्नतिका लागि पाँच हजार घनमिटर ग्याबिनवाल र दुई हजार घनमिटर रिटर्निङ वाल लगाउने कार्य सम्पन्न भइसकेको छ। सडकको ग्रेड मिलाउने, आवश्यक ठाउँमा ड्रेन निर्माण, ग्याबिनवाल र रिटर्निङ वाललगायतको काम भइरहेको छ। इन्धनको मूल्य घटेर आपूर्ति सहज हुँदा पाँच महिनाभित्र कागबेनी–तोङ्वेसम्मको सडक कालोपत्र सम्पन्न गर्ने लक्ष्य रहेको निर्माण कम्पनीका प्रतिनिधि श्रेष्ठले जानकारी दिए। सडक विस्तारको कामलाई तोकिएको समयमा सक्न दैनिक ८० जना भन्दा बढी जनशक्ति परिचालन गरिएको छ। प्रतिनिधि श्रेष्ठले भने, ‘सडकको संरचना निर्माण र कालोपत्र गर्न आवश्यक उपकरण र क्रसरको व्यवस्था भइसकेको छ र छिटो कामलाई तीव्रता दिइनेछ। हिउँदको मौसममा काम सम्भव नहुने भएकाले काम गर्ने समय सात महिना मात्रै छ।’

बारागुङ मुक्तिक्षेत्र–३ स्थित कागबेनी–छुसाङ सडकखण्डमा गत असार र साउन महिनामा परेको बाढीपहिरोले केही आशिंक क्षति पुर्‍याएको थियो। बाढीले सडकका केही भाग भासिएको छ भने सडकको बेसमा केही क्षति पुगेको छ। नेपाल–चीन बहुचर्चित उत्तरी कोरला नाकासम्मको सडकलाई थप स्तरोन्नतिसहित कालोपत्र गर्ने उद्देश्यले छुसाङ–घमी र घमी–कोरला खण्डमा दुई चरणमा प्रारम्भिक वातावरणीय प्रभाव मूल्यांकन सम्पन्न भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत अर्थ मन्त्रालयले कोरला नाकासम्मको सडक कालोपत्रका लागि बजेट विनियोजन गरेमा उपल्लो मुस्ताङको सडक मार्ग सहज हुने लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले बताए। आयोजनाले छुसाङ–कोरला सडकको कालोपत्रसहित स्तरोन्नतिमा करिब पाँच अर्ब भन्दा बढी लागत लाग्ने अनुमान गरेको छ।