
६ वैशाख, काठमाडौं । नेकपा एमालेका सांसद ऐन महरले विद्यार्थी आन्दोलनलाई दबाउने वा प्रतिबन्ध लगाउने सरकारका कुनै पनि प्रयास सफल हुन नदिने बताएका छन्। आइतवार काठमाडौंमा आयोजित एक कार्यक्रममा सांसद महरले विद्यार्थी आन्दोलन लोकतन्त्रको रक्षाकर्ता भएको बताएका छन्। उनले विद्यार्थी संगठनहरू खारेज गर्ने कुरा ‘बेतुका’ भएको टिप्पणी समेत गरे।
हालको सरकारको नेपालप्रति राष्ट्रियता र स्वाधीनताका लागि कुनै माया नभएको उनले आरोप लगाए। सरकारले ल्याएको शासकीय सुधारको बुँदा नम्बर ८६ मा विद्यार्थी संगठन खारेज गर्ने आशय रहेको भन्दै, त्यसको भोलिपल्टै देश ठप्प पार्नुपर्ने अवस्थामा विद्यार्थी नेतृत्व किन अझै मौन बसेको प्रश्न समेत उनले उठाए।
‘यो सरकार अलोकतान्त्रिक, अराष्ट्रिय र आयातित छ। यसलाई नेपालको राष्ट्रियता र स्वाधीनताप्रति कुनै माया छैन,’ उनले भने, ‘तपाईंहरू सडक तताउनुस्, हामी सबै मोर्चाबाट साथ दिन्छौँ। आवश्यक पर्यो भने म सांसदको लोगो फुकालेर तपाईंहरूसँगै सडकमा आउन तयार छु।’ गणतन्त्र ल्याउन राजनीतिक दलहरूभन्दा पनि विद्यार्थीहरूले अगाडि हिंडेर रगत बगाएको स्मरण गराउँदै, अहिलेको व्यवस्था अन्तर्गत विद्यार्थी आन्दोलनलाई कमजोर बनाउन खोज्नु स्वीकार्य नभएको उनको धारणा छ। संविधानको धारा ३१ मा उल्लेखित शिक्षा सम्बन्धी मौलिक हक कार्यान्वयनलाई मुख्य आन्दोलनको एजेण्डा बनाउन उनले विद्यार्थीहरूलाई सुझाव दिएका छन्।






