महालक्ष्मी नगरपालिकाले लगातार तेस्रो पटक राष्ट्रपति रनिङ्ग शिल्ड उपाधि जित्यो

७ वैशाख, धनकुटा। धनकुटाको साँगुरीगढी गाउँपालिकामा सम्पन्न १६औं जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता–२०८२ को उपाधि महालक्ष्मी नगरपालिकाले जितेको छ। महालक्ष्मी नगरपालिकाले ३२ स्वर्ण, २६ रजत, र २२ कांस्य पदक हासिल गर्दै विजेता बन्न सफल भएको हो। साँगुरीगढी गाउँपालिकाको व्यवस्थापन र भानु माध्यमिक विद्यालय डाँडाबजारको संयोजनमा गरिएको प्रतियोगितामा जिल्लाका अन्य ६ स्थानीय तहलाई पछि पार्दै महालक्ष्मी नगरपालिकाले उपाधि जितेको हो। यससँगै महालक्ष्मीले लगातार तेस्रो पटक राष्ट्रपति रनिङ्ग शिल्ड आफ्नो नाममा दर्ता गर्न सफल भएको आयोजक संस्था जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख नविन प्रधानले जानकारी दिए।
धनकुटा नगरपालिकाले १६ स्वर्ण, १३ रजत, र १३ कांस्य पदक हात पार्दै दोस्रो स्थान हासिल गरेको छ भने चौबिसे गाउँपालिकाले १० स्वर्ण, ८ रजत र ४ कांस्य पदकसहित तेस्रो स्थान प्राप्त गरेको छ। प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो स्थान हासिल गरेका स्थानीय तहका विद्यालयका खेलाडीहरूलाई कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीले पुरस्कार तथा शिल्ड वितरण गरेका थिए। ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित सम्पन्न प्रतियोगितामा धनकुटाका सबै ७ स्थानीय तहका करिब ५०० खेलाडीहरूले सहभागिता जनाएका थिए। प्रतियोगितामा ६६ स्वर्ण पदकका लागि एथलेटिक्स, भलिबल, कबड्डी, कराते, उसु र तेक्वान्दो खेलमा प्रतिस्पर्धा भएको थियो।
यसअघि चौबिसे गाउँपालिकाको संयोजन र राजारानीस्थित पुण्य माध्यमिक विद्यालयको व्यवस्थापनमा भएको १५औं संस्करणको राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता–२०८१ मा महालक्ष्मीले ३१ स्वर्ण, २५ रजत र ८ कांस्य पदकसहित पहिलो स्थान हासिल गर्दै उपाधि जितेको थियो। त्यस्तै धनकुटाको महालक्ष्मी नगरपालिकास्थित दमार खेल मैदानमा सम्पन्न चौधौं संस्करणको राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता–२०८० मा महालक्ष्मीले ३३ स्वर्ण, २१ रजत र २७ कांस्य सहित कुल ८१ पदक हात पारेको थियो। आयोजकले जानकारी दिएको छ कि १८औं संस्करणको राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता–२०८३ को संयोजन धनकुटा नगरपालिकाले गर्नेछ।






