
७ वैशाख, काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पश्चिम बंगालमा झालमुडी (चटपटे) खाएको भिडियो सामाजिक सञ्जालमा अत्याधिक चर्चा पाएको छ । आइतबार पश्चिम बंगालको चुनावी सभापछि उनले स्थानीय सडकखाद्य सामग्री सहितको झालमुडीको स्वाद चाखेका थिए । उनले आइतबार साँझ आफ्ना आधिकारिक एक्स (ट्विटर) खातामा भिडियो र फोटो पोष्ट गर्दै लेखेका छन्, ‘व्यस्त आइतबारका चारवटा सभाबीच झारग्राममा स्वादिलो झालमुडी खान पाउँदा खुसी लाग्यो ।’ भिडियोले ११ मिलियनभन्दा बढी र फोटोले ६ मिलियनभन्दा बढी प्रतिक्रिया प्राप्त गरेको छ । अन्य सामाजिक सञ्जाल माध्यमहरूमा पनि मोदीको झालमुडी खाँदै गरेको दृश्य निकै चर्चित बनेको छ ।
मोदी र पसलेबीच रमाइलो संवादमा उनले पसलवालासँग भनेका थिए, ‘भाइ, हामीलाई आफ्नो झालमुडी चाखाऊ ।’ मूल्य सोध्दा मोदीले भने, ‘राम्रो झालमुडी कतिको पर्ला ?’ पसलेले जवाफ दियो, ‘१० वा २० रुपैयाँ, बस यति नै ।’ मोदी मुस्कुराउँदै भन्छन्, ‘जे होस्, बनाइदिनुहोस् ।’ मोदी खल्तीबाट पैसा निकालेर पसलवालालाई दिन खोज्दा सुरुमा पसलेले भुक्तानी अस्वीकार गरे, तर मोदीको पुनः आग्रहपछि पैसा स्वीकार गरे । रमाइलो संवादमा पसलेले प्याज हाल्ने वा नहाल्ने सोध्दा मोदीले भने, ‘हुन्छ, खाऔं । बस दिमाग नखाऔं ।’
हाल झालमुडी नेपालमा प्रचलित चटपटेजस्तै भारतको लोकप्रिय खाजाको एक रूप मानिन्छ । यो विशेष गरी पश्चिम बंगाल, बिहार र झारखंड क्षेत्रमा निकै लोकप्रिय छ । यसको मुख्य सामग्री भुजा हो, जसमा भुटेका बदाम, टमाटर, उबालेको आलु, काँक्रो, प्याज, चाट मसला, जिरा, र कागतीको रस जस्ता विभिन्न मसला मिसाएर तयार गरिन्छ । प्रायः यो कागजको कोनमा राखेर बेचिन्छ ।






